झापा ,बिर्तामोड । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । बुधबार समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत केही क्षेत्रको मतगणना सम्पन्न भएसँगै दुवैतर्फको मतगणना सकिएको निर्वाचन आयोगका एक सदस्यले जानकारी दिए ।

प्रत्यक्षतर्फको मतगणना भने यसअघि नै सकिएको थियो । प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १२५, नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, श्रम संस्कृति ३, राप्रपा र स्वतन्त्र एक उम्मेदवार निर्वाचित भएका थिए ।
समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट सङ्ख्या निर्धारणको गृहकार्यमा जुटेको छ ।
बुधबार दिउँसोसम्म आयोगले समानुपातिकतर्फ एक करोड ७ लाख ८५ हजार ८७६ मत गणना गरिसकेको जनाएको छ । गणनामध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ५७ हजार १३० मतसहित अग्रता बनाएको छ ।
दोस्रोमा नेपाली कांग्रेसले १७ लाख ५५ हजार ८७२, नेकपा (एमाले) ले १४ लाख ५२ हजार ७५८ मत पाएको छ । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ९ हजार ५७७, श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ७४१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ३० हजार २६८ मत पाएको छ ।
२०७९ को निर्वाचनमा ठुला बनेका नेपाली कांग्रेस र नेकपा एमाले दुवै दल यो निर्वाचनमा खुम्चिएका छन् । अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ ल्याएको नेकपा एमालेको यो पटकको मत झन्डै आधाले घटेको छ । यो पटक एमालेले समानुपातिकमा १४ लाख ५२ हजार ७५८ मत मात्र पाएको छ ।
अघिल्लो चुनावमा ल्याएको मतको तुलनामा एमालेको यो पटकको समानुपातिक मत १३ लाख ९२ हजार ८८३ मतले घटेको छ ।
त्यस्तै, नेपाली कांग्रेसको समानुपातिक मत पनि अघिल्लो चुनावको तुलनामा घटेको छ । कांग्रेसले यो पटक १७ लाख ५४ हजार ६९५ मत पाएको छ । उसले २०७९ को निर्वाचनमा २७ लाख १५ हजार २२५ मत पाएको थियो । अघिल्लो र यो चुनावमा कांग्रेसको समानुपातिक मतान्तर ९ लाख ६० हजार ५३० कम छ ।
समानुपातिकतर्फ दलहरूले पाएको मतको आधारमा उनीहरूका सांसद थपिनेछन् । जसअन्तर्गत रास्वपाका समानुपातिक सांसद ५७, नेपाली कांग्रेसका २०,एमालेका १६, नेपाली कम्युनिस्ट पार्टीका ९, श्रम संस्कृति पार्टीका ४,राप्रपा ४, सांसद थपिने छन् । प्रत्यक्ष र समानुपातिक दुवै गरेर कुल सांसद २७५ मध्ये रास्वपाका १८२, कांग्रेसका ३८,एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राप्रपा ५ र स्वतन्त्र १ सांसद संसदमा रहनेछन् । स्मरणरहोस्, अघिल्लो निर्वाचनमा रास्वपाका २१ सांसद थिए ।
यो निर्वाचनमा जनमत, जसपा, लोसपा,नाउपा, नेमकिपा, जनमोर्चा राष्ट्रिय पार्टीको हैसियत बनाउन नसक्दा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी उदाउन पुगेको छ । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा ६७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए ।