बिर्तामोड–९ स्थित गरामनी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। कुल ४० जना मतदातामध्ये ३७ जनाले मतदान गरेका थिए। मतदान अधिकृत निरतलाल राजवंशीका अनुसार मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो।

मतदान सम्पन्न भएसँगै मतगणना प्रक्रिया अघि बढाइएको थियो। अन्तिम नतिजाअनुसार राप्रपा निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (रा.प्र.वि.स) का केशव खरेल २३ मतसहित विजयी हुँदा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का उम्मेदवारले ६ मत प्राप्त गर्यो भने नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ८ मत ल्याएको छ।
सचिवमा रा.प्र.वि.स. का सन्दिप अधिकारी २१ मत, कोषाध्यक्षमा रामकृष्ण पौडेल १९ मत साथ विजयी भएका छन्। अन्य सदस्यमा पनि रा.प्र.वि.स. का सदस्य विजयी भएका छन् भने अनेरास्ववियुबाट रमिला बुढाथोकी सदस्य पदमा विजयी भएकी छन्।