राजनीतिलाई ‘मापनयोग्य’ बनाउनु पर्छ

नेपाली राजनीतिको आकाशमा एउटा जबरजस्त भाष्य दशकौँसम्म जरो गाडेर बस्यो “राजनीति फोहोरी खेल हो र यो बुझ्न कपाल फुल्नुपर्छ।” यही भाष्यको छहारीमा पुराना दलहरूले एउटा यस्तो सिन्डिकेट खडा गरे, जहाँ नयाँ विचार, युवा ऊर्जा र मेधावी क्षमतालाई ‘अपरिपक्व’ भन्दै ढोका बाहिरै राखियो। “तँ केटाकेटी छस्, राजनीति बुझ्दैनस्” भन्ने उपेक्षापूर्ण वाक्य नै युवा पुस्तालाई निरास बनाउने मुख्य अस्त्र बन्यो। तर, समय सधैँ एकैनास रहँदैन। हिजो राजनीतिबाट टाढा भाग्ने, विदेशिने वा तटस्थ बस्ने पुस्ता आज सडकबाट सदनसम्म पुगेको छ। बालेन शाहको उदय होस्, नयाँ दलहरूको आकस्मिक प्रवेस होस् वा पुराना दलभित्रै विद्रोह गरिरहेका युवा अनुहारहरू , यसले एउटा कुरा स्पष्ट पारेको छ: अबको राजनीति ‘त्याग र जेल’ को स्मृतिमा होइन, ‘तथ्य र डेलिभरी’ को कसीमा जाँचिनेछ। तर, के अनुहार फेरिनु मात्रै पर्याप्त छ त? पक्कै छैन। अबको वास्तविक लडाइँ भनेको राजनीतिलाई ‘अमूर्त गफ’ बाट निकालेर ‘मापनयोग्य नतिजा’ (Measurable Results) मा ढाल्ने पद्धतिको विकास गर्नु हो।

राजनीतिलाई तल्लो तहसम्मै मापनयोग्य बनाउनका लागि सबैभन्दा पहिले ‘कार्यसम्पादनमा आधारित राजनीति’ (Performance-based Politics) को संस्कृति बसाल्नु अनिवार्य छ। हिजोका दिनमा नेताको योग्यता उनीहरूले सत्ताको कति निकट रहेर चाकडी गरे वा कति वर्ष पार्टीको झण्डा बोके भन्ने आधारमा नापिन्थ्यो। अब त्यो मापदण्डलाई ध्वस्त पारेर “एक जनप्रतिनिधिले आफ्नो कार्यकालमा कतिवटा नीतिगत सुधार गरे, कति बजेट फ्रिज हुनबाट जोगाए र कति नागरिकको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन ल्याए” भन्ने वस्तुनिष्ठ तथ्याङ्कमा आधारित बनाउनुपर्छ। वडा तहदेखि नै एउटा ‘डिजिटल ड्यासबोर्ड’ निर्माण गरी हरेक महिनाको प्रगति विवरण जनताका सामु राख्ने प्रणाली विकास गर्नुपर्छ। जबसम्म जनताले आफ्ना प्रतिनिधिको कामलाई अंक (Scorecard) मा हेर्न पाउँदैनन्, तबसम्म जवाफदेहिता केवल चुनावी भाषणमा मात्र सीमित रहनेछ।

दोस्रो र सबैभन्दा पेचिलो पक्ष भनेको ‘मेरिटोक्रेसी’ (योग्यताप्रणाली) को संस्थागत विकास हो। पुराना दलहरू त चाकडी र गुटतन्त्रको आहालमा डुबेकै थिए, नयाँ भनिएका शक्तिहरूमा पनि ‘आफ्ना’ मान्छेलाई काखा र ‘योग्य’ मान्छेलाई पाखा लगाउने प्रवृत्ति देखिनु चिन्ताजनक छ। राजनीतिलाई सफा गर्ने हो भने पार्टीभित्रैबाट ‘मेरिट’ को सुरुवात हुनुपर्छ। पार्टीको साधारण सदस्यदेखि नेतृत्वसम्म पुग्नका लागि स्पष्ट ‘केपीआई’ (Key Performance Indicators) तोकिनुपर्छ। जसरी कर्पोरेट वा प्राविधिक क्षेत्रमा व्यक्तिको क्षमताको वैज्ञानिक मूल्यांकन हुन्छ, राजनीतिमा पनि कुन नेताले कति जनसम्पर्क गर्यो, कति नयाँ र जनपक्षीय विचार दियो र कति स्थानीय समस्याको समाधानमा नेतृत्वदायी भूमिका खेल्यो भन्ने आधारमा उसको पदोन्नति हुनुपर्छ। नेताको पछि लाग्ने ‘हनुमान’ हरूको सट्टा विषयविज्ञ र नैतिकवान् युवाहरूले अवसर पाउने वातावरण बनेपछि मात्र राजनीतिमा ‘शुद्धीकरण’ सम्भव छ।

तेस्रो आधार हो— ‘तथ्याङ्कमा आधारित नीति निर्माण’ (Evidence-based Policy)। अबको राजनीति “मलाई लाग्छ” वा “हाम्रो पालामा यस्तो थियो” भन्ने भावना र अहंकारमा होइन, “तथ्याङ्कले यस्तो भन्छ र यो सम्भव छ” भन्ने यथार्थमा चल्नुपर्छ। कुनै पनि ठूला आयोजना वा नीति ल्याउँदा त्यसको सामाजिक र आर्थिक प्रभाव कति पर्छ भन्ने वैज्ञानिक पूर्वानुमान (Impact Analysis) सार्वजनिक गरिनुपर्छ। उदाहरणका लागि, एउटा सडक बनाउँदा त्यसले कति रोजगारी सिर्जना गर्छ र त्यसको लागत र लाभ (Cost-Benefit Analysis) को अनुपात कति हुन्छ भन्ने गणितीय आधार जनतालाई बुझाउन सक्नुपर्छ। यदि नयाँ पुस्ताले पनि त्यही पुरानो ‘हुकुमी’ शैली, अपारदर्शी निर्णय र “म नै जान्ने हुँ” भन्ने दम्भलाई निरन्तरता दिने हो भने, यो परिवर्तन केवल ‘बोतल फेरिएको तर रक्सी उही पुरानो’ जस्तै सावित हुनेछ।

अन्ततः, राजनीतिलाई ‘नाप्न सकिने’ बनाउनु भनेको यसलाई ‘लोकतान्त्रिक विज्ञान’ सँग जोड्नु हो। चाकडी र चाप्लुसीको जगमा ठडिएको राजनीतिको महल अब ढल्नै पर्छ। नयाँ पुस्ताका जनप्रतिनिधिहरूका लागि यो एक ऐतिहासिक अवसर र कठोर चुनौती दुवै हो। उनीहरूले राजनीतिलाई एउटा यस्तो पारदर्शी ऐना बनाउनुपर्छ, जहाँ हरेक नागरिकले आफ्नो पसिना र करको हिसाब स्पष्ट देख्न सकोस्। राजनीतिलाई मापनयोग्य बनाउनु भनेको केवल तथ्याङ्कको खेल होइन, यो त जनताको विश्वासलाई अंकमा पुष्टि गर्ने एउटा इमानदार प्रयास हो। अबको प्रतिस्पर्धा कसले बढी चर्को भाषण गर्छ र कसले धेरै मान्छे सडकमा उतार्छ भन्नेमा होइन, कसले कति विकास र सुशासनलाई गणितीय रूपमा ‘डेलिभर’ गर्छ भन्नेमा केन्द्रित हुनुपर्छ। अनि मात्र “राजनीति फोहोरी खेल हो” भन्ने भाष्य सदाका लागि अन्त्य हुनेछ।

Leave a Reply