बिर्तामोडमा वित्तीय साक्षरता तथा सहकारी शिक्षा तालिम सम्पन्न

झापाको बिर्तामोडमा वित्तीय साक्षरता तथा सहकारी शिक्षा सम्बन्धी तालिम कार्यक्रम सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिकाको नगर शिक्षा शाखाको सहयोगमा शुक्रबार बिर्तामोड–३ सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सभाहलमा तालिम आयोजना गरिएको हो । विराट सामुदायिक सिकाइ केन्द्रको आयोजनामा तथा विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको समन्वयमा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।
विराट सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष रुद्र सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नरेन्द्र सग्रौला प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख सग्रौलाले पछिल्लो समय वित्तीय साक्षरताको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै नागरिकलाई आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । उनले सहकारी संस्थाहरूले बचत तथा लगानीको संस्कार विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको धारणा व्यक्त गरे ।
तालिममा प्रशिक्षक राजकुमार बरालले व्यक्तिगत आर्थिक व्यवस्थापन, आय–व्यय सन्तुलन, बचतको महत्व, सहकारी शिक्षाको आवश्यकता तथा ऋणको सही उपयोगका विषयमा सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागीहरूलाई व्यवहारिक वित्तीय ज्ञानसँगै सहकारीमार्फत आर्थिक सशक्तीकरणका उपायबारे जानकारी गराइएको थियो ।

कार्यक्रममा विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष होम सिटौला तथा उपाध्यक्ष केशवराज पाठक अतिथिका रूपमा सहभागी थिए । उनीहरूले समुदायस्तरमा वित्तीय चेतना अभिवृद्धि गर्न यस्ता तालिम प्रभावकारी हुने धारणा राखेका थिए ।
कार्यक्रमको सञ्चालन टीका अधिकारीले गरेका थिए । कार्यक्रममा स्थानीय समुदाय, सहकारीकर्मी तथा विभिन्न क्षेत्रका सहभागीहरूको उपस्थिति रहेको थियो ।

सहभागीहरूले तालिम उपयोगी र व्यवहारिक रहेको प्रतिक्रिया दिएका छन् । वित्तीय साक्षरता तथा सहकारी शिक्षामार्फत समुदायमा आर्थिक चेतना विस्तार गर्न कार्यक्रमले सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ

Leave a Reply