झापा- जिल्ला प्रशासन कार्यालय झापाले चाडपर्व, मेला, महोत्सव तथा व्यावसायिक प्रतिष्ठानहरूमा खटिने निजी सुरक्षागार्ड र बाउन्सरहरूलाई सर्वसाधारण नागरिकमाथि हातपात, दुर्व्यवहार तथा बल प्रयोग गर्न कडाइका साथ निषेध गरेको छ।

चाडपर्व तथा मेलाका अवसरमा खटिएका सुरक्षागार्ड तथा बाउन्सरहरूबाट नागरिकमाथि दुर्व्यवहार हुने र झै-झगडा बढ्ने गुनासो आएपछि प्रशासनले सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।
प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलद्वारा जारी सूचना अनुसार सुरक्षा वा भीड नियन्त्रणका नाममा नागरिकको मानमर्यादामा आँच पुग्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित सबै पक्षलाई सचेत गराइएको छ।
कार्यस्थल वा मेला परिसरमा कुनै अवाञ्छित गतिविधि, विवाद वा होहल्ला भएमा बाउन्सर वा सुरक्षागार्ड आफैँ झगडामा सामेल हुन पाउने छैनन्। त्यस्तो अवस्थामा बल प्रयोग नगरी तत्काल ड्युटीमा रहेका प्रहरी वा नजिकको प्रहरी कार्यालयमा खबर गरेर जिम्मा लगाउनुपर्ने नियम बनाइएको छ।
त्यसैगरी, प्रशासनले निजी सुरक्षा कम्पनीका सञ्चालक तथा मेला–महोत्सवका आयोजकहरूलाई आपराधिक पृष्ठभूमि नभएका र तालिमप्राप्त व्यक्तिहरूलाई मात्र सुरक्षामा खटाउन भनेको छ। परिचालित जनशक्तिलाई नागरिकसँग शिष्ट र मर्यादित व्यवहार गर्न पूर्व-अभिमुखीकरण दिनुपर्ने, तोकिएको पोशाक तथा सम्बन्धित कम्पनीको आधिकारिक परिचयपत्र अनिवार्य रूपमा लगाउनुपर्ने व्यवस्था गरिएको छ।
ठूला कार्यक्रम वा मेलामा निजी सुरक्षाकर्मी परिचालन गर्दा स्थानीय प्रहरी तथा प्रशासनसँग पूर्वसमन्वय र जानकारी गराउनु अनिवार्य गरिएको छ।
सूचनामा तोकिएका नियमहरूको अवज्ञा गरी कुनै पनि सुरक्षाकर्मी वा बाउन्सरले सर्वसाधारणमाथि हातपात वा अभद्र व्यवहार गरेको पाइएमा संलग्न व्यक्ति मात्र नभई उनीहरूलाई परिचालन गर्ने कम्पनीका सञ्चालक तथा आयोजकलाई समेत प्रचलित कानुन बमोजिम कडा कानुनी कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ।