झापा । कञ्चन विद्यालयमा विद्यालय क्याप्टेन तथा भाइस क्याप्टेन छनोटका लागि लोकतान्त्रिक अभ्यास अन्तर्गत निर्वाचन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। निर्वाचनमा कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको विद्यालयले जनाएको छ।

विद्यालयका अनुसार कुल २५६ विद्यार्थीमध्ये २४२ जना मतदानमा सहभागी भएका थिए भने १५ जना अनुपस्थित रहेका थिए। सहभागीमध्ये १२४ जना छात्र र ११८ जना छात्रा रहेका थिए। निर्वाचनमा २४२ मत खसेकोमा २२५ मत सदर तथा १७ मत बदर भएको थियो। कुल मतदान प्रतिशत ९४.१६ प्रतिशत रहेको विद्यालयले जनाएको छ।
विद्यालय क्याप्टेन पदका लागि ७ जना विद्यार्थीले उम्मेदवारी दिएका थिए। जसमा कक्षा ८ मा अध्ययनरत छात्रा प्रकृति तिम्सिना घडी (Watch) चुनाव चिन्हबाट तथा आरोग्य तिम्सिना विजयी भएका छन्।
त्यसैगरी, विद्यालय भाइस क्याप्टेन पदका लागि ५ जना विद्यार्थी चुनावी प्रतिस्पर्धामा सहभागी भएका थिए। कक्षा ९ मा अध्ययनरत छात्र प्रनिस कुँवर केतली (Kettle) चुनाव चिन्हबाट तथा छात्रा सासिमा बस्नेत बन्दुक (Gun) चुनाव चिन्हबाट समान मत प्राप्त गर्दै विजयी भएका छन्।
विद्यालयले सम्पूर्ण निर्वाचन प्रक्रिया शान्तिपूर्ण, निष्पक्ष तथा व्यवस्थित रूपमा सम्पन्न भएको जनाएको छ। विद्यालयमा लोकतान्त्रिक अभ्यासमार्फत विद्यार्थीहरूमा नेतृत्व विकास, जिम्मेवारी बोध तथा सहभागितामूलक संस्कारको विकास हुने हेतुले गरिएको छ।