झापा , बिर्तामोड / लोकतन्त्रमा सरकारको काम कारवाहीको खुलेर आलोचना गर्न पाइन्छ जनता र प्रतिपक्षले गरेको आलोचनालाई दबाउनु भनेको सरकार असफलताको बाटोमा हिड्न शुरु गर्नु हो अझ आलोचनालाई सुन्नु र त्यसबाट सुधारको बाटो खोज्न न सक्नु सरकारको गम्भिर भूल हो। तर पछिल्ला दिनहरूमा देखिएका केही घटनाहरूले एउटा गम्भीर प्रश्न उठाएका छन् के विरोधको आवाज दबाएर, पत्रकारलाई डर देखाएर, नागरिकमाथि बल प्रयोग गरेर र असहमतिलाई अपराधझैँ व्यवहार गरेर देश बनाइन्छ?

संसद जनताको आवाज बोल्ने सर्वोच्च थलो हो। त्यहाँ प्रतिपक्षलाई बोल्न दिइन्न भने त्यो केवल एउटा दलको आवाज रोकिएको होइन, लाखौँ नागरिकको प्रतिनिधित्वमाथि प्रश्न उठेको हो। त्यस्तै, पत्रकारलाई समाचार लेख्न नदिनु, धम्की दिनु वा स्वतन्त्र प्रेसमाथि हस्तक्षेप गर्नु भनेको लोकतन्त्रको एउटा महत्त्वपूर्ण खम्बा कमजोर बनाउनु हो l
सरकारले नै नागरिकको खुट्टा भाँचिदिनु, मोबाइल पानीमा डुबाइदिनु, जीविकोपार्जनको साधन बनेको ट्याम्पो भिरबाट धकेलिदिनु वा दैनिक उपभोग्य समान त्यो पनी सामान्य नागरिकका सामान नष्ट गरिदिनु जस्ता कार्यहरू आफ्नो दुइतिहाइको दम्भ र शक्ति प्रदर्शन हुन सक्छन्, तर सुशासनका उदाहरण कदापि हुन सक्दैनन्। कानूनको शासन भएको मुलुकमा दण्ड र निर्णय कानूनी प्रक्रियाबाट हुन्छ, न कि “ढुक्क हुनुस ” भनेर स्टाटस लेखेर र बल प्रयोग गरेर होइन।
सुकुम्बासी तथा विपन्न समुदायलाई दीर्घकालसम्म होल्डिङ सेन्टरमा राखेर समस्याको समाधान हुँदैन। उनीहरूको सम्मानजनक पुनर्स्थापना, रोजगारी, शिक्षा र आवासको सुनिश्चितता नै दिगो समाधानको बाटो हो। मानव मर्यादाको सम्मान नगरी विकासको भाषण गर्नु विरोधाभास मात्र हो।
सुशासनको अर्थ आलोचकलाई चुप लगाउनु होइन, पारदर्शिता कायम गर्नु हो। सुशासनको अर्थ डर सिर्जना गर्नु होइन, नागरिकमा विश्वास जगाउनु हो। सुशासनको अर्थ शक्ति प्रदर्शन होइन, कानूनको निष्पक्ष कार्यान्वयन हो।
यदि देश बनाउने नाममा जनताको असहमतिलाइ दबाइन्छ, प्रश्न गर्नेहरूलाई शत्रु ठानिन्छ र नागरिक अधिकारलाई बेवास्ता गरिन्छ भने प्रश्न उठ्नु स्वाभाविक छ के यही सुशासन हो? कि सुशासन भनेको नागरिकको आवाज सुन्ने, प्रेस स्वतन्त्रताको सम्मान गर्ने, मानव अधिकारको रक्षा गर्ने र कानून सबैका लागि बराबर लागू गर्ने प्रणाली हो?
देश विकास भन्नु केवल सडक, भवन र पुल जस्ता भौतिक विकास मात्र होइन । देश तब बन्छ, जब नागरिकले स्वतन्त्र रूपमा खवरदारी सहित बोल्न पाउँछन्, पत्रकारले निर्भीक रूपमा देखेको लेख्न पाउँछन्, प्रतिपक्षले नागरिकका आवज आफ्ना कुरा मार्फत राख्न पाउँछ र राज्यले तिनका विरुद शक्ति होइन, न्यायमार्फत शासन गर्छ।किनभने साँचो सुशासन डरबाट होइन, विश्वासबाट निर्माण हुन्छ।