झापा ,बिर्तामोड ,कार्तिक २५ / जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी घटनामा संलग्न भएको अभियोगमा १२ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी कार्यालयमा आगजनी, सरकारी स्रोत साधनमा तोडफोड र लुटपाट गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार सिसिटिभी फुटेज, घटनास्थलको भिडियो, फोटो र साक्षी समेतको विवरणका आधारमा उनीहरुलाई पहिचान गरिएको हो ।
इलाका प्रहरी कार्यालय अनारमनी, दमक र सुरुङ्गाको कार्यालय भवन, प्रहरी कर्मचारीमाथि सांघातिक आक्रमण, सवारी साधन र सरकारी स्रोतसाधनमा आगजनी लगायतका घटनामा उनीहरूको संलग्नता देखिएको प्रहरीको दाबी छ ।

पक्राउ परेका उपर प्रहरीले ज्यान मार्ने उद्योग, आपराधिक उपद्रो लगायतका कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
पक्राउ पर्नेमा बिर्तामोड-५ का नवराज राई, राजन चौधरी, पूजा मगर र आयुष धिमाल छन् । त्यसैगरी प्रहरीले कनकाईबाट गोपाल संग्रौला र विष्णु विकलाई पक्राउ गरेको छ ।
शिवसताक्षीबाट कुशल तिम्सिना र सञ्जय बस्नेत समातिएका छन् । आपराधिक उपद्रवको अभियोगमा अर्जुनधाराका सुरज राईलाई पनि प्रहरीले समातेको छ ।
इलाका प्रहरी कार्यालय दमकले रियाज सिलवाल, नकुल अधिकारी र साजन ल्वागुनलाई पक्राउ गरेको छ ।
