विर्तामोड, झापा / असार – ५
नेपाल स्काउटको ७५औँ स्थापना दिवस विर्तामोड नगर स्काउट समितिको आयोजनामा प्रभातफेरी तथा अन्तर स्काउट दल हाजिरी जवाफ प्रतियोगितासहित भव्य रूपमा सम्पन्न भएको छ।

स्थापना दिवसको अवसरमा विर्तामोडको मुक्ति चोकबाट सुरु भएको प्रभातफेरी नगरका विभिन्न क्षेत्रको परिक्रमा गर्दै देवी माध्यमिक विद्यालयको सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो। कार्यक्रममा विभिन्न विद्यालयका स्काउट विद्यार्थी, रोभर ,रेन्जर तथा स्काउटरहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा विर्तामोड नगर प्रमुख तथा नगर स्काउट संरक्षक पवित्रा देवी महतारा प्रसाईं प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने नगर उपप्रमुख तथा प्रमुख स्काउट नगेन्द्र प्रसाद सङ्ग्रौला विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तिलचन भण्डारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, स्काउट प्रशिक्षक तथा परिषद् सदस्यहरूको समेत सहभागिता रहेको थियो।
कार्यक्रममा कोशी प्रदेश परिषद् सदस्य एवं सहायक राष्ट्रिय प्रशिक्षक नारायण श्रेष्ठ, नगर स्काउट समितिका शैक्षिक पद्धति आयुक्त सङ्गिता पराजुली, सुशासन तथा वित्त आयुक्त कपिल सापकोटा, सामुदायिक विकास आयुक्त डम्बरु बल्लभ ओझा तथा सदस्यता वृद्धि आयुक्त आकास सिंहलगायत स्काउट अभियन्ताहरूको उपस्थिति रहेको थियो।

औपचारिक कार्यक्रमपछि देवी माविको सभाहलमा विद्यालयस्तरीय अन्तर स्काउट दल हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितामा नगरभित्रका १९ वटा स्काउट ट्रुपका ३८ जना विद्यार्थी सहभागी भएका थिए।
प्रतियोगितामा मोहनमाया स्काउट दल प्रथम, सेन्ट जेभीयर्स स्काउट दल द्वितीय, ग्रीनफिल्ड स्काउट दल तृतीय तथा महेन्द्र ज्योति स्काउट दल सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए। विजेता तथा सहभागी विद्यार्थीहरूलाई अतिथिहरूद्वारा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रमको समापन गर्दै विर्तामोड नगर स्काउट समितिका प्रमुख आयुक्त निकुञ्ज शर्माले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण विद्यालय, स्काउट लिडर, विद्यार्थी तथा अतिथिहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले स्काउटिङले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, सेवाभाव र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
विर्तामोडमा आयोजित स्थापना दिवस कार्यक्रमले स्काउट आन्दोलनप्रति विद्यार्थीहरूको आकर्षण बढाउनुका साथै सामुदायिक सेवा र नेतृत्व विकासको सन्देश प्रवाह गरेको जनाइएको छ।