भद्रपुरमा असोज २२ देखि रात्रिकालीन अन्तरपालिका भलिबल

भद्रपुर । झापाको भद्रपुरमा कोशी प्रदेश आमन्त्रित नगरपालिकास्तरीय अन्तरपालिका तेस्रो रात्रिकालीन भलिबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। प्रतियोगिता असोज २२ देखि २५ गतेसम्म भद्रपुर नगरपालिका–५ स्थित भद्रपुर माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ।

प्रतियोगिताबारे आयोजकले आज भद्रपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। भद्रपुर युवा समूहका अध्यक्ष भरत यादवको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा भद्रपुर नगरपालिका–५ का कार्यवाहक वडा अध्यक्ष जेष्ठमल ठाकुर प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा प्रसङ्ग चियाका प्रोपाइटर प्रदीप बराल अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

प्रतियोगितामा १८ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। कोशी प्रदेशका विभिन्न नगरपालिकाबाट आमन्त्रित टोलीसँगै विभागीय टोली नेपाल पुलिस विराटनगरले समेत प्रतियोगितामा सहभागिता जनाउनेछ।

प्रतियोगिताको विजेता टोलीले रु. १ लाख १ हजार र उपविजेता टोलीले रु. ५१ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु. ५ हजार १०० नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा विभिन्न विधातर्फ थप छ वटा पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएको छ।

रात्रिकालीन रूपमा सञ्चालन हुने प्रतियोगिताले भद्रपुरमा खेलकुद गतिविधि बढाउनुका साथै स्थानीय तथा प्रदेशस्तरका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ।

पत्रकार सम्मेलनमा प्रतियोगिता सञ्चालनका लागि खेलमैदान, लाईट व्यवस्थापनलगायत आवश्यक तयारी भइरहेको जानकारी दिइएको थियो।

Leave a Reply