४ बैशाख, काठमाडौं । एफसी चितवन पहिलो पटक नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा पुगेको छ ।

एनएसएल २०२५ अन्तर्गत बिहीबार भएको अन्तिम लिग खेलमा साविक उपविजेता समेत रहेको धनगढी एफसीलाई ३-१ ले पराजित गर्दै चितवनले प्लेअफमा स्थान पक्का गरेको छ ।
तेस्रो संस्करणमा चितवन प्लेअफ पुग्ने अन्तिम टोली बनेको छ । यसअघि नै साविक विजेता ललितपुर सिटी एफसी, साविक उपविजेता धनगढी एफसीसँगै पोखरा थण्डर्सले प्लेअफमा स्थान बनाइसकेको छ ।
अन्तिम लिग खेल जितपछि चितवनले ६ खेलबाट १० अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ । पहिलो पटक प्लेअफमा पुगेको चितवनले अब एलिमिनेटरमा पोखरा थण्डर्ससँग प्रतिस्पर्धा गर्नेछ ।
धनगढीको यस सिजन लगातार ५ खेलको जित यात्रामा पनि ब्रेक लागेको छ । यसअघि नै पहिलो क्वालिफायर खेल्ने पक्का भएको धनगढीले अन्तिम लिगमा चितवन विरुद्ध दोस्रो रोजाईँको टिम मैदान उतारेको थियो ।
शनिवार ललितपुरसँगको खेलअघि धनगढीले सबै खेलाडीलाई मौका दिने क्रममा दोस्रो र तेस्रो रोजाईँको किपरलाई समेत चितवन विरुद्ध खेलाएको थियो ।
हारपछि धनगढीले ६ खेलबाट ११ अंक जोडेर दोस्रो स्थानै रह्यो । अब पहिलो क्वालिफायर ललितपुर र धनगढीबीच शनिवार हुनेछ ।
दशरथ रंगशालमा चितवनले एक गोलले पछि परेको स्थिती उल्टाउदै पुनरागमन जित हात पारेको हो ।
चितवनका लागि नोदिर माभलानोभ र जय गुरुङले एक-एक गोल गरे भने धनगढीका अमृत श्रेष्ठले आत्मघाती गोल उपहार दिए ।
धनगढीका लागि जर्ज प्रिन्स कार्कीले एक गोल गरे ।
जर्ज प्रिन्सले खेलको सातौं मिनेटमै करिब ३५ यार्डबाट सुन्दर गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकने । चितवनका लागि १४औं मिनेटमा कार्यवाहक कप्तान नोदिरले पर्नाल्टीमार्फत बराबरी गोल फर्काए । नियमित कप्तान अन्जन श्रेष्ठ बेन्चमा हुँदा नोदिरले कप्तानी गरेका हुन् ।
यस्तै जय गुरुङले पहिलो हाफको इन्जुरी टाइममा गोल गरेपछि चितवनले २-१ को अग्रता बनायो । छिरिङ गुरुङले दायाँ भागबाट दिएको क्रसमा भिक्टोर मानसराले छाडेको बलमा जयले गोल गरेका हुन् ।
धनगढीले दोस्रो रोजाईँको टिम मैदान उतार्दा त्यसको भरपुर फाइदा चितवनले उठायो ।
दोस्रो हाफमा पनि चितवनले गोल थप्यो । ५०औं मिनेटमा धनगढीका अमृतले आत्मघाती गोल उपहार दिए । चितवनका भिक्टोर मानसारेले दायाँ भागबाट हानेको क्रसलाई क्लियर गर्ने क्रममा अमृतले आफ्नै पोष्टमा गोल हानेका हुन् ।
अन्लाईन खबर बाट