झापा -प्रधानमन्त्री केपी शर्मा ओली र भरतपुर महानगर प्रमुख रेनु दाहालबीच लामो समयपछि देखिएको सौहार्दपूर्ण व्यवहारले राजनीतिक वृत्तमा चासोको विषय बनेको छ। भरतपुरमा निर्माण सम्पन्न भएको ६ लेन सडकको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीलाई स्वागत गर्न रेनु दाहाल स्वयं विमानस्थल पुग्दा उक्त दृश्य देखिएको हो।

२०७७ सालमा यसै सडकको शिलान्यास पनि ओलीकै पालामा भएको थियो, र त्यतिबेला पनि मेयर दाहाल नै थिइन्। यद्यपि, सो कार्यक्रममा रेनु अनुपस्थित थिइन्। त्यसयता नेकपा एमाले र माओवादी केन्द्रबीच सडकको श्रेय लिन होडबाजी चल्दै आएको थियो। यही सन्दर्भमा उद्घाटन समारोहमा रेनु सहभागी हुने कि नहुने भन्ने अनुमान पनि गरिएको थियो।
तर, सबै अड्कलबाजीलाई तोड्दै रेनु न केवल कार्यक्रममा सहभागी भइन्, उनले प्रधानमन्त्रीलाई स्वागत गर्न भरतपुर विमानस्थलमै पुगेर फुलगुच्छा अर्पण गरिन्। ओलीले पनि मुस्कुराउँदै रेनुसँग सौहार्दता देखाउँदै सोधे, “छोरी सञ्चै छौं?” रेनुले पनि टाउको हल्लाएर मुस्कानसहित प्रतिक्रिया जनाइन्।
सडक उद्घाटन समारोहमा ओलीले उपप्रधानमन्त्री प्रकाशमान सिंह र मेयर दाहाललाई विशेष महत्व दिएका थिए। शिलालेख अनावरणको क्रममा उनले उनीहरूलाई डोरी तान्न दिए भने, रिवन काट्ने समयमा पनि अगाडि सारे। ओलीले दुवैलाई तानेर अघि ल्याएको दृश्यले समारोहको समावेशी र सहकार्यपूर्ण माहोल दर्शाएको थियो।

राजनीतिक रूपमा प्रतिद्वन्द्वी देखिने दुई नेताबीच देखिएको यो व्यवहारले नेपाली राजनीतिमा संवाद र सहकार्यको सम्भावना अझै बाँकी रहेको संकेत गरेको छ।