विद्यालय कर्मचारीलाई चाबी लिएर काठमाडौं आउन परिषद्को निर्देशन

काठमाडौं — नेपाल विद्यालय कर्मचारी परिषद्ले चाबी लिएर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन दिएको छ।

अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले आज एक विज्ञप्ति जारी गर्दै परिषद्ले २४ घण्टाभित्र काठमाडौंमा जारी आन्दोलनमा सहभागी हुन अल्टिमेटमसहित निर्देशन दिएको हो।

‘विद्यालय कर्मचारीलाई विद्यार्थी भर्ना, नतिजा प्रकाशन र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर सुन्नमा आएको’ भन्दै परिषद्ले चाबी लिएरै काठमाडौंमा जारी आन्दोलनमा अनिवार्य सहभागी हुन भनेको छ। शैक्षिक हडताल भइरहेको यो परिस्थितिमा समग्र शिक्षा क्षेत्रको अग्रगामी परिवर्तन र कर्मचारीको हकअधिकार स्थापित गर्ने परिवर्तनकामी यात्रामा छुट्ने अधिकार कसैलाई नरहेको पनि परिषद्ले जनाएको छ।

परिषद्ले ७ वटै प्रदेश कार्यसमिति, ७७ वटै जिल्ला कार्यसमिति र ७५३ वटै स्थानीय कार्यसमितिलाई पत्राचार गरिसकेको छ।

यता, निजामती कर्मचारी परिचालन गरेर भए पनि चैत ११ गतेदेखि परीक्षा सञ्चालन गर्ने सरकारको तयारी रहेको छ। त्यहीअनुसार निर्णय भएको बोर्ड स्रोतले जनाएको छ।