बिर्तामोड-८ मा ब्राउन सुगरसहित दुई युवक पक्राउ

बिर्तामोड-प्रहरीले झापाको बिर्तामोड-८ नारायण कृष्ण टोलबाट मंगलबार अपरान्ह लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा कचनकवल गाउँपालिका वडा नम्बर ७ घर भएका २६ वर्षीय खड्गसिंह माझी र २० वर्षीय मुस्कान भुजेल रहेका छन् ।

स्थानीय कविता रिमालको घरमा कोठा भाडामा लिएर बस्दै आएका उनीहरूका साथमा ३ ग्राम २२० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

प्राप्त सूचनाका आधारमा अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले उनीहरूको कोठामा छापा मारेर लागूऔषध ब्राउन सुगर बरामद गरेको हो ।

पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।