बिर्तामोड, झापा — माटोको अम्लीयता न्यूनीकरण तथा जैविक मलको प्रभावकारी प्रयोगबारे जानकारी प्रदान गर्ने उद्देश्यले बिर्तामोड नगरपालिका–३ सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम हिजो समापन भएको छ।

उक्त कार्यक्रममा संस्थामा आबद्ध ५० जना सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रम बिर्तामोड नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र कडरिया र स्वस्थ जीवनशैली तथा जैविक उत्पादन अभियानकर्मी युक्तप्रसाद भेटुवालको संयोजनमा सम्पन्न भएको थियो l
कार्यक्रमका प्रमुख अतिथि पूर्व राष्ट्रिय सभासद् हरिचरण शिवाकोटीले हाल माटोको उर्वराशक्ति कमजोर हुँदै गएको अवस्थालाई चिन्ताजनक भन्दै रासायनिक मलको सट्टा जैविक विकल्प प्रयोग गर्न आग्रह गरे।
उहाँले भन्नुभयो, “माटोको संरक्षण कृषि मात्र होइन, मानव स्वास्थ्य र राष्ट्रिय समृद्धिसँग पनि जोडिएको विषय हो। हामीले वैज्ञानिक सोचसहितको कृषि अभ्यासलाई आत्मसात गर्नैपर्छ।”

कार्यक्रममा सहकारीका कोषाध्यक्ष काजीबहादुर बुढाथोकीको अध्यक्षता रहेको थियो।
कार्यक्रममा माटोको परिचय, यसको गुणस्तर घटाउने कारकहरू, रासायनिक मलको असर, अम्लीयताको वृद्धिको कारण र यसको दीर्घकालीन असरबारे गहिरो छलफल भएको थियो। जैविक मल प्रयोगद्वारा माटोको उर्वराशक्ति वृद्धिसँगै मानव स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने विषयमा विज्ञहरूले स्पष्ट पारे।

कार्यक्रमलाई सफल बनाउन संस्थाका सल्लाहकार उमनाथ ओली, सचिव गणेश ओलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। स्वागत मन्तव्य नारायण शिवाकोटीले राखेका थिए भने कार्यक्रम सञ्चालन सहकारीका प्रबन्धक रुद्र सिटौलाले गर्नुभएको थियो।
“माटो बचाऔं, स्वास्थ्य जीवन अपनाऔं” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रमले किसानहरूलाई वैज्ञानिक र दीर्घकालीन कृषि अभ्यासतर्फ उन्मुख गराउने विश्वास आयोजकले लिएका छन्।