झापाका हात्ती पीडितलाई झण्डै दुई करोड राहत

बिर्तामोड-झापामा मानव-हात्ती द्वन्द्वबाट पीडित बनेका परिवारलाई डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षमा झण्डै दुई करोड रुपैयाँ राहत उपलब्ध गराएको छ ।

कार्यालय र निर्देशनालयमार्फत हालसम्म ५८३ परिवारलाई १ करोड ९० लाख भन्दाबढी राहत रकम वितरण गरिएको हो ।यो रकम हात्तीको आक्रमणबाट ज्यान गुमाएका १० परिवारलाई प्रतिपरिवार १० लाखका दरले दिइएको छ ।

घाइतेको उपचार, घर र बालीनालीको क्षतिपूर्तिबापत पनि रकम प्रदान गरिएको छ । यद्यपि, जिल्लाका थप ५२५ पीडित परिवारले अझै राहत पाउन सकेका छैनन् ।

उनीहरुका लागि करिब ८७ लाख रुपैयाँ वितरण गर्न बाँकी रहेको वन कार्यालयले जनाएको छ । हात्तीको आक्रमणबाट गम्भीर घाइते हुनेहरुको उपचार खर्च धेरै लाग्ने तर सरकारी राहत अपर्याप्त हुने गरेको पीडितको गुनासो छ ।