झापा– झापाको भद्रपुरमा ब्राउनसुगर कारोबारी पक्राउ गर्ने क्रममा प्रहरीले गोली प्रहार गरेको छ। प्रहरीको गोली लागेर एक जना कारोबारी घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले मंगलबार दिउँसो भद्रपुर–८ स्थित ओमसाई पाथीभरा हस्पिटल अगाडि गोली प्रहार गरी दुईजना कारोबारीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमध्ये एक जना नेपाली र अर्का भारतीय नागरिक रहेको बताइएको छ। यद्यपि, प्रहरीले उनीहरूको विस्तृत परिचय खुलाएको छैन।
उनीहरूको साथबाट ब्राउनसुगर बरामद भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले बरामद भएको लागुऔषधको तौल गर्न बाँकी रहेको जानकारी दिए।
घटनामा अन्य व्यक्तिहरू पनि संलग्न रहेको हुनसक्ने आशंकामा प्रहरीले खोजी कार्य तीव्र बनाएको छ।