साउने सोमबार अर्जुनधारा जलेश्वरधाममा भक्तजनको घुइँचो

झापा ,बिर्तामोड  साउन- ५  आज साउन महिनाको पहिलो सोमबारको दिन झापाको अर्जुनधारा जलेश्वरधाममा श्रद्धालु भक्तजनको ठूलो भीड लागेको छ। हिन्दु परम्परा अनुसार साउन महिना भगवान शिवको प्रिय महिनाका रूपमा लिइन्छ भने विशेषगरी सोमबारका दिनलाई अत्यन्त पवित्र र फलदायी मानिन्छ।

पूर्वी नेपालकै प्रमुख शिव मन्दिरमध्ये एक मानिने अर्जुनधारा जलेश्वरधाममा आज देशभरका विभिन्न भागहरू साथै छीमेकी देशहरुबाट समेत दर्शनार्थीहरू आउने गरेका छन्। मन्दिरका मूल पुजारी अग्नि सिग्देलका अनुसार, साउने सोमबारका दिन विशेष पूजाआजा, जल चढाउने, बेलपत्र अर्पण गर्ने, र ब्रत बस्ने गरेको पाइन्छ साथै भक्तहरूको lउपस्थिति उल्लेख्य देखिएको छ।

धार्मिक आस्था र विश्वास अनुसार साउने सोमबारमा निराहार ब्रत बसेर शिवजीको पूजा गर्दा आफ्नो मनोकांक्षा पूरा हुने, सुस्वास्थ्य, दीर्घायु, र पारिवारिक सुख शान्ति प्राप्त हुने जनविश्वास  मानिन्छ। विशेष गरी हिन्दु महिलाहरूका लागि यो दिन अझ विशेष महत्वपूर्ण मानिन्छ।

अर्जुनधारा जलेश्वरधाम परिवारका अनुसार भक्तजनको सुविधालाई ध्यानमा राख्दै यस वर्ष विशेष व्यवस्थापन मिलाइएको छ। शिघ्र दर्शनको व्यवस्था, जल चढाउने स्थानमा सहजता, र सुरक्षाका उपायहरूले थप मजबुत बनाइएको जनाइएको छ l 

यो प्रकारको धार्मिक आस्थाको मेलामा भक्तजनको सहभागिताले झापा जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटन प्रवर्धनमा समेत प्रत्यक्ष रुपमा सकारात्मक प्रभाव पार्ने देखिन्छ।