बिर्तामोडमा ‘झ्याप्प–झ्याप्प’ बत्तीले जनजीवन ..

नरेन्द्र ढकाल /बिर्तामोड ।

बिर्तामोडमा केही दिनदेखि बिजुली झ्याप्प झ्याप्प जाने समस्याले नागरिक हैरान भएका छन् ।

बढ्दो तापक्रमका कारण समस्यामा परेका नागरिक विद्युत नहुँदा झनै समस्यामा परेका हुन् । समस्यामा परेका नागरिकले अनारमनी वितरण केन्द्रमा सम्पर्क गर्दा अफिसको फोन नलाग्ने समस्या रहेको गुनासो गरेका छन् । केहीले सामाजिक सञ्जालमा नै प्राधिकरणबिरुद्ध आक्रोश पाखेका छन् ।

दिनहुँको गर्मीले हैरान भएका नागरिक विद्युत नहुँदा झनै समस्यामा भएका हुन् । अनारमनी वितरण केन्द्रका प्रमुख सञ्जिवकुमार साहले विद्युतको समस्याले आफू पनि हैरान भएको बताए । उनले हामि सग कुरा गर्दै भने– ‘कहिले पानी पर्छ भन्दै कुरिरहेको छु ।’

पानी नपर्दा किसानले २४सै घण्टा मोटरबाट सिँचाई गर्ने तथा सहरी क्षेत्रमा एसी, कुलर लगायतका विद्युतीय उपकरणको प्रयोग अत्याधिक हुने गरेका कारण विद्युतको लोड थाम्न नसकेर ट्रान्सफर्मरहरुमा फ्युज जल्ने समस्या बढेको प्रमुख साहको भनाइ छ । उनले भने– ‘केही दिनअघि एकैदिन ३५ वटा विद्युत ट्रान्सफर्मरको फ्युज जल्यो, जनशक्ति कम छ, सबैतिर बनाउनै पर्छ । समयमा विद्युत नबनिँदा नागरिकको आक्रोश बढ्नु स्वभाविकै हो ।’

अनारमनी वितरण केन्द्रमा ९८ हजार उपभोक्ता रहेको र यो देशकै दोस्रो ठूलो धेरै उपभोक्ता भएको क्षेत्र रहेको प्रमुख साहले बताए । उनले अझै पनि ग्राहकहरु थपिनेक्रम बढेको र विद्युतमा लोड अझै थपिने बताए ।

बिर्तामोड, अर्जुनधारा, कनकाई नगरपालिका, बाह्रदशी, झापा तथा शिवसताक्षी र हल्दिबारीका केही वडामा उपभोक्ताहरु रहेको र अनारमनी वितरण केन्द्रको क्षेत्र ठूलो भएकाले सबैतिर विद्युत व्यवस्थित गर्न समय लागेको उनको भनाइ छ ।

पछिल्लो समय पानी नपरेका कारण कृषिजन्य क्षेत्रमा मोटरको अधिक प्रयोगकका कारण विद्युतको लोड धेरै भएको प्रमुख साहको भनाइ छ । उनले लोडसेडिङ नरहेको तर विद्युतमा समस्या रहेको स्वीकार गरेका छन् । बिर्तामोडमा अव्यवस्थित रुपमा विभिन्न सेवा प्रदायक इन्टरनेटहरुले तारलाई व्यवस्थित नगर्दा आगलागीका घटना बढेको उनको भनाइ छ ।

इन्टरनेटहरुले अव्यवस्थित रुपमा तार गुजुल्टो पारेका छन्, अधिक लोड र गर्मीका कारण त्यस्ता ठाउँमा समस्या आउँछ र आगलागीका घटना बढेका छन् । इन्टरनेटलाई व्यवस्थित नगर्ने हो भने यस्ता समस्या दिनहुँजसो आउने गरेको उनको भनाइ छ । आगलागीका घटना बढ्दा जोखिम झनै बढेको उनले बताए ।

अनारमनी वितरण केन्द्रमा बैशाख महिनाको भन्दा ५० लाख बढी युनिट विद्युत खपत भएको उनको भनाइ छ । आफू पनि नागरिक तथा उपभोक्ता नै भएकाले नियतबस कुनै क्षेत्रको विद्युत कटौती नगर्ने तथा उपभोक्तालाई समस्यामा पार्ने आफ्नो नियत नरहेको बताए ।