बुवाको मुख हेर्ने र कुसे औँशी आज, कुस घर–घरमा लिने परम्परा

बिर्तामोड, भदौ ७ । आज नेपाली समाजमा बुवाप्रतिको सम्मान स्वरूप बुवाको मुख हेर्ने दिन देशभर मनाइँदैछ । प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिनमा बुवाप्रति श्रद्धा, माया र कृतज्ञता व्यक्त गर्दै सन्तानहरूले मिठा परिकार खुवाउने, कपडा र विभिन्न सामग्री उपहार दिने परम्परा रहेको छ ।

यस्तै, आजकै दिनलाई कुसे औँशी पनि भनिन्छ । वैदिक संस्कृतिअनुसार हरेक धार्मिक कर्मकाण्डमा प्रयोग गरिन्छ l कुस झट्ट हेर्दा हरियो घाँस प्रजातीको जस्तै देखिने भएता पनी कुसलाई देवी–देवताको आसन र पवित्रताको प्रतीक मानिन्छ । आजका दिन घर–घरमा आफुले पुजेका बाम्हण मार्फत कुस भित्र्याउने चलन रहेको छ । यसरी लिइएको कुस वर्षभर धार्मिक तथा पूजापाठमा प्रयोग गरिन्छ ।

धार्मिक विश्वासअनुसार बुबाको मुख हेर्ने दिनमा बुबाको आशीर्वाद प्राप्त गर्नेले आयु, ज्ञान र समृद्धि प्राप्त गर्छन् भने यस दिन बुबा दिवंगत भएकाहरूले भने तीर्थस्थानमा गएर पिण्डदान गर्ने वा धार्मिक कर्म गर्ने चलन छ । यसलाई गोकर्ण औँशी पनि भनिन्छ ।

आज देशभर मठ–मन्दिरमा भीड देखिएको छ भने परिवारभित्र बुबालाई विशेष सम्मान गर्ने र आशीर्वाद लिने परम्परा उल्लासपूर्ण वातावरणमा सम्पन्न हुँदैछ भने बाम्हण द्वारा घर घरमा कुश सिउरिने धार्मिक एवं परम्परागत कार्य भैरहेको छ ।