काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की आज पदभार ग्रहण गर्ने तयारीमा छिन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहान ११ बजे सिंहदरबारमा पदभार ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।

यसअघि शुक्रबार शपथग्रहणलगत्तै पदभार सम्हाल्ने योजना भए पनि शपथमा ढिलाइ भएकाले सो कार्यक्रम स्थगित भएको थियो। आज सिंहदरबार पुगेर पदभार ग्रहण गरेपछि कार्कीले विभिन्न मन्त्रालय तथा निकायका उच्च अधिकारीहरूसँग प्रारम्भिक छलफल गर्ने अपेक्षा गरिएको छ।
गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने तयारी गरिएको छ। यसबीच, जनजी आन्दोलनका क्रममा बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा क्षति पुगेकाले कार्की हाल आफ्नै निजी निवासमै बसिरहेको बुझिएको छ। सरकारी निवास मर्मतका लागि केही समय लाग्ने भएकाले तत्काल त्यहाँ प्रवेश सम्भव नभएको बताइएको छ।
राजनीतिक रूपमा संवेदनशील अवस्थामा उनले जिम्मेवारी सम्हाल्न लागेकाले आजको कार्यतालिकालाई विशेष महत्त्वका साथ हेरिएको छ। शपथग्रहणपछि पदभार ग्रहण गर्ने पहिलो महिला प्रधानमन्त्रीका रूपमा कार्कीको कदमलाई देशभर चासोका साथ नियालिएको छ।