मानव अधिकारको मञ्चबाट नेतृत्वप्रति समर्थन

झापा । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा मानवअधिकार एलायन्स इन्चार्ज विष्णु रिजालले पार्टीभित्रको एकता भंग गर्ने प्रयत्न भइरहे पनि नेपालमा कम्युनिष्ट आन्दोलनका लागि केपी ओलीकै नेतृत्व आवश्यक रहेको बताएका छन्।

शनिबार बिर्तामोडमा आयोजित राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलायन्स)को जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै रिजालले केपी ओलीको विकल्प खोज्ने बेला नभएको दाबी गरे। “ओलीको नेतृत्व एमालेका लागि मात्र होइन, समग्र देशकै आवश्यकता हो,” उनले भने।

उनका अनुसार पार्टीको ११औं महाधिवेशन मंसिर वा फागुन भित्र सम्पन्न हुने तयारीमा छ। “भदौको अन्तिम साता विधान महाधिवेशन सम्पन्न भइसकेको छ। विधानअनुसार त्यसपछि ६ महिनाभित्र महाधिवेशन गर्नुपर्ने प्रावधान छ,” रिजालले जानकारी दिए।

उनले महाधिवेशन नयाँ नेतृत्व चयनमा केन्द्रित हुने भएकाले नीति र विधिबारे छलफलका लागि पहिले विधान महाधिवेशन गरिएको स्पष्ट पारे।

मानव अधिकार र एमालेबीचको सम्बन्धबारे चर्चा गर्दै रिजालले “समृद्ध नेपाल, सुखी नेपाली” भन्ने नारालाई मानव अधिकारमै आधारित दृष्टिकोण भएको बताए। उनले २०८४ को निर्वाचनमा एमाले बहुमतसहितको एकल सरकारको नेतृत्व गर्नुपर्ने लक्ष्य रहेको बताए।

पार्टीका जनसंगठनका नेताहरूप्रति इङ्गित गर्दै रिजालले जनतासँग सघन सम्पर्कमा रहन सुझाव दिए। “माथिल्लो तहमा सम्बन्ध बनाउने तर गाउँटोलमा उपस्थित नदेखाउने नेतृत्वले उम्मेदवारी र जित दुवैमा समस्या झेल्न सक्छ,” उनले चेतावनी दिए।

कार्यक्रममा मानव अधिकार एलायन्सका केन्द्रीय अध्यक्ष बिदुर सुवेदी प्रमुख अतिथि थिए भने झापा अध्यक्ष अर्जुनकुमार पाठकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा एमाले झापा अध्यक्ष प्रेम गिरी तथा अन्य वक्ताहरूले विषयगत प्रस्तुति दिएका थिए।

मानवअधिकार एलायन्स झापाका सचिव एकेन्द्र उप्रेतीले कार्यक्रम सञ्चालन गरेका थिए भने केन्द्रीय सदस्य रुद्र सटौलाले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारे। दमक नगर समितिका अध्यक्ष त्रिलोचन रेग्मीसहित अन्य अतिथिहरुले कार्यक्रमको अनुभूति सुनाएका थिए।

अन्त्यमा, एलायन्स झापा अध्यक्ष अर्जुन पाठकले १५ वटै पालिका स्तरीय समिति नामावली सार्वजनिक गरेका थिए