बिर्तामोड, झापा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले झापा जिल्लामा हालै सम्पन्न पुनर्निर्माण कार्यको अनुगमन गरेका छन्। जेन्जी आन्दोलनका क्रममा क्षति पुगेका जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनी नागरिकको सहयोग र पहलमा पुनःनिर्माण भएपछि आज आईजीपी खापुङ स्वयं स्थल पुगेका हुन्।

अनुगमनका क्रममा महानिरीक्षक खापुङले स्थानीय समुदायले देखाएको सहयोग र प्रहरी संस्थाप्रतिको विश्वासप्रति आभार व्यक्त गर्दै प्रहरी र नागरिकबीचको सहकार्य नै शान्ति, सुरक्षा र विकासको मूल आधार हुने बताएका थिए। उनले भने, “प्रहरी भवन भत्किँदा मात्र होइन, विश्वास पनि हल्लिन्छ; तर आज नागरिककै हातले पुनःनिर्माण भएको यस कार्यालयले प्रहरी र जनताको सम्बन्ध अझ मजबुत बनाएको छ।”
कार्यक्रममा प्रदेश प्रहरी कार्यालय कोशीका प्रहरी प्रमुख, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख, बिर्तामोड प्रमुख , स्थानीय समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

अनुगमनका क्रममा आईजीपी खापुङले पुनर्निर्मित कार्यालयहरूको भौतिक संरचना, सेवाग्राहीमैत्री व्यवस्था तथा ट्राफिक व्यवस्थापनको स्थलगत निरीक्षण गरेका थिए। साथै उनले कर्मचारीहरूलाई इमानदारीपूर्वक सेवा प्रवाह गर्न निर्देशन दिँदै जनतामाझ प्रहरीको छवि अझ सुदृढ बनाउन आह्वान गरे।
