आज काग तिहार सन्देशवाहक पक्षीप्रति श्रद्धा गरीदै 

बिर्तामोड, कात्तिक २।

आज काग तिहार तिहार अर्थात् यमपञ्चक पर्वको पहिलो दिनका रूपमा काग तिहारले पाँच दिने पर्वको शुभारम्भ जनाउँछ। यो दिनलाई यमदूतको सम्मान गर्ने दिन पनि भनिन्छ।

कागलाई हिन्दू धर्मशास्त्रमा यमराजका दूत अर्थात् मृत्युका सन्देशवाहकका रूपमा मान्ने गरिन्छ। पुराणहरूका अनुसार काग असन्तुष्ट भए घरमा अनिष्ट र दुःख आउँछ भने सन्तुष्ट कागले शुभ समाचार र समृद्धिको सन्देश ल्याउँछ भन्ने विश्वास छ। त्यसैले आज बिहानैदेखि देशभरका मानिसहरूले कागलाई पूजा गरी विविध परिकार अर्पण गरेर सम्मान व्यक्त गरेका छन्।

आज बिहानैदेखि घर घरमा भात, दही, खिर, रोटी र मिठाइ पकाई छानामा वा खुला स्थानमा राखेर कागलाई काग काग भन्दै बोलाउने दृश्य देखिएको छ। बालबालिकाले कागको आवाज सुन्न पाउँदा ‘काग आयो, तिहार आयो’ भन्दै हर्ष व्यक्त गरेका देख्न सकिन्छ ।

संस्कृतिविद् र पौराणिक जानकारहरूका अनुसार काग तिहारले मानव र प्रकृतिको सम्बन्धलाई झल्काउँछ। कागलाई सन्देश र सूचनाको प्रतीकका रूपमा लिएर यो पर्वले मानिस र जीवजन्ताबीचको सहअस्तित्व, करुणा र संवेदना प्रकट गर्छ।

लोकविश्वास अनुसार काग बिहानै  बोल्यो भने घरमा पाहुना आउँछन शुभ सन्देश आउँछ भन्ने मान्यता पनि छ। गाउँघरमा त आजको दिन कागलाई भोकै नराख्ने चलन छ, किनभने काग तिहार नमान्ने घरमा लक्ष्मीप्रसाद प्रवेश नगर्ने जनविश्वास रहेको पाइन्छ।

काग तिहारसँगै तिहारको दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन लक्ष्मीपूजा, चौथो दिन गोरू तिहार र गोवर्धन पूजा, र पाँचौँ दिन भाइटीका मनाइन्छ। यी सबै दिनहरूले घर परिवार, जनावर र प्रकृतिप्रतिको कृतज्ञता प्रकट गर्छन्।

नेपालको सांस्कृतिक विविधताभित्र तिहारले ल्याउने प्रकाश, मिलन र हार्दिकताको सन्देशले सम्पूर्ण नेपाली समाजमा उमंग ल्याउने परम्परा छ। आजको दिन कागलाई पूजा गर्दै सन्देशवाहक पक्षीप्रतिको श्रद्धा र प्रकृतिसँगको सन्तुलनको सम्झना गर्ने अवसरका रूपमा लिइन्छ।