तिहारको तेस्रो दिन आज गाई पूजा गरिदै 

झापा , बिर्तामोड – कार्तिक ४ । पाँचदिनसम्म मनाइने यमपञ्चक अर्थात् तिहार पर्वको  तेस्रो दिन आज देशभर गाई पूजा धुमधामका साथ मनाइँदैछ। नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारले केवल उज्यालो र रंगको पर्व मात्र होइन, आस्था, भक्ति र प्रकृतिप्रतिको सम्मानको प्रतीकका रूपमा समेत मानिन्छ।

आज बिहानदेखि नै घरघरमा गाई पूजा गर्ने परम्परा चलिआएको र आज गरिदै गरिएको छ। गाईलाई हिन्दू धर्ममा सम्पत्ति र समृद्धिको प्रतीक देवी लक्ष्मीको रूप मानिन्छ। बिहान सबेरै गाईलाई नुहाइ धुवाइ गरी, फुलमाला लगाएर, टिका र मिठा मिठा परिकार अर्पण गर्दै पूजा गरिन्छ। गाईलाई घरमा ल्याई “गाई आगमन” को रूपमा स्वागत गरिन्छ, जसले घरमा धन र सौभाग्य प्रवेश गर्छ भन्ने विश्वास रहिआएको छ भने धार्मिक कार्यमा गाईबाट दूध, दही र गहुँतको प्रयोग गरी धार्मिक कर्म पनि गरिन्छ।

आजको दिनले धार्मिक आस्था, भक्ति र प्रकृतिप्रतिको सम्मानलाई सुदृढ बनाउने अवसर प्रदान गर्छ। घर–घरमा दीपको उज्यालो, फूलको सुगन्ध, भजनको धुन र परिवारबीचको हार्दिकता मिसिएर तिहारको वातावरण अत्यन्तै उल्लासमय बनेको छ।

देशभरका सहरदेखि गाउँसम्म दीप, रङ र फुलले सजिएको दृश्यले नेपाली समाजमा एकता, प्रेम र समृद्धिको सन्देश दिइरहेको छ। तिहारको तेस्रो दिनलाई “धन र उज्यालोको रात” भनेर पनि चिनिन्छ, जसले अन्धकारमाथि प्रकाश र असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइन्छ।