एमालेले सिकाउन नसकेको उद्यमशीलता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले देशभर संगठन बिस्तार गर्यो , हजारौँ युवालाई आफ्नो विचारसँग बाँध्यो, उनीहरूलाई राजनीतिक प्रशिक्षण, भाषण कला, विधान संरचना र पार्टीप्रतिको अनुशासन सिकायो । तर यति ठुलो संरचनात्मक शक्ति हुँदाहुँदै पनि एमालेले युवालाई राष्ट्र निर्माणको आर्थिक पक्ष विशेषतः उद्यमशीलता र उत्पादनमूलक क्षमता निर्माण गर्ने शिक्षा दिन भने नसके जस्तो देखिन्छ । संगठनभित्र उत्साह थियो, नारा थियो, भीड थियो तर, उद्यमशीलता र उत्पादनमूलक क्षमता नभएको कारण स्वतन्त्र आर्थिक दृष्टिकोणसहितको सृजनात्मक उद्यमी पुस्ता विकास हुन पाएन ।
पार्टीका कार्यक्रमहरूमा भाग लिने युवाहरूलाई बारम्बार ‘परिवर्तनका वाहक , समृद्धिको अग्रदूत’ भनेर सम्बोधन गरियो । तर त्यो समृद्धि कहिले र कसरी आउने भन्ने व्यावहारिक उत्तर भने दिइएन । युवाहरूलाई कसरी उद्योग दर्ता गर्ने, कसरी स्थानीय उत्पादनलाई बजारमा रूपान्तरण गर्ने, कसरी डिजिटल प्रवाहमा प्रवेश गर्ने, भन्ने विषयमा कुनै संरचित प्रशिक्षण भएन ।
उनीहरूलाई आन्दोलन कसरी गर्ने, वक्तव्य कसरी लेख्ने भन्ने कुरा त सिकाइयो, तर व्यवसाय कसरी सुरु गर्ने, पूँजी कहाँबाट ल्याउने, जोखिम कसरी व्यवस्थापन गर्ने भन्ने विषय पार्टीको प्रशिक्षणको दायरा भित्र कहिल्यै आएन । यसरी हेर्दा एमालेले सिकाएको चेतना आधा मात्र थियो । जसले गर्दा राजनीतिक आक्रोश त जागृत गरियो तर आर्थिक स्वतन्त्रताको भने जगाइएन ।
यही कमजोरीले गर्दा एमालेको विशाल युवा संरचना उद्यमी कार्यकर्ताको सट्टा अवसर खोज्ने कार्यकर्तामा रूपान्तरण हुँदै गयो । सिफारिस खोज्ने संस्कृतिले उद्यमशीलता विकास गर्ने वातावरणलाई भित्रैबाट निस्तेज बनायो । उद्योग खोल्ने मानिसभन्दा पार्टीको नजिक हुन चाहानेको संख्या वृद्धि भयो । फलस्वरूप पार्टीभित्रको हैसियत (पोर्टफोलियो) उत्पादनमूलक क्षमताभन्दा बढी महत्वपूर्ण मानियो । यही संरचनाले धेरै सक्षम युवा जो प्रविधि र नवप्रयोगमा अघि थिए उनीहरूलाई पार्टी संरचना भित्र प्रभाव जमाउन भन्दा पनि बाहिर आफ्नो बाटो खोज्न बाध्य बनायो ।
भर्खरै देखिएको जेनजी आन्दोलन केवल सडकमा भीड उतार्ने गतिविधि मात्र थिएन, त्यो नेपाली युवाको राजनीतिक विश्वासको तीव्र विघटन थियो । यी युवाहरूले परम्परागत आन्दोलनको जस्तो दलगत नारा लगाएनन्, कसैको झण्डा बोकेनन्, कुनै पार्टीको भाषण पस्किएनन् । बरु तिनीहरूले भने ‘हामी लाई मान्छे जस्तो व्यवहार गर’ । आन्दोलनमा भएका विध्वंसको समर्थन गर्न नसकिएला, आर्थिक व्यवस्था माथीको सुन्योजीत प्रहारको समर्थन गर्न नसकिएला तर यो आन्दोलनले स्थापित राजनीतिक दलहरूको माथिल्लो संरचनाले युवा पुस्ताको वास्तविक आकांक्षालाई गरेको अन्तर्घात उजागर गरिदियो ।
युवाहरू विशेषतः शिक्षित र डिजिटल माध्यममा सक्रिय पुस्ता अब पार्टी भित्रै बस्ने होइन बाहिरबाट प्रश्न सोध्ने शक्ति बन्न थालेका छन् भन्ने उदाहरण यो आन्दोलन भयो । उनीहरू बुझिसके दलले दिएको पद त क्षणिक हो, तर आफूले सिर्जना गरेको उत्पादन र पहिचान स्थायी हो । राजनीतिक संगठनहरू अब युवाको ऊर्जा ‘नारा बोकेर हिँड्ने शैली’ बाट ‘उद्यम खोलेर चलाउने शैली’ मा बदल्न बाध्य हुने अवस्था सिर्जना भएको छ । यदि एमालेले यो रुपान्तरणलाई समयमै बुझेन भने पार्टीको सङ्गठनिक शक्ति बन्नै सक्दैन ।
आजको पुस्ता राजनीतिक भाषणभन्दा बढी स्टार्टअप इन्क्युबेसन, डिजिटल ब्रान्ड निर्माण, युनिक उत्पादन निर्यात को कुरा गर्छ । उनीहरूलाई नारा मन पर्छ तर नारा भन्दा अझ ठूलो आकर्षण आर्थिक आत्मनिर्भरता र स्वाभिमान हो । एमालेजस्तो व्यापक पहुँच भएको पार्टीले यदि साँच्चै ‘समृद्ध नेपाल सुखी नेपाली’को दर्शनलाई व्यवहारमा उतार्ने चाह राख्छ भने उद्यमशीलता सिकाउने संस्थागत मेकानिजम तयार गर्नु आजको आवश्यकता हो । पार्टी स्कूल राजनीतिक चेतनाको लागि पर्याप्त हुन सक्छ, तर उद्यमशील राष्ट्र निर्माणको लागि ‘आर्थिक दक्षता विद्यालय’ आवश्यक छ ।
सहकारी अभियानहरूलाई केवल पार्टीगत प्रभावको संरचना होइन स्थानीय उत्पादन प्रोत्साहन र लगानी संयोजन गर्ने केन्द्रमा रूपान्तरण गर्न सकिने थियो । स्थानीय तहदेखि संघीय संरचना सम्म, प्रत्येक तहमा ‘उद्यम सल्लाह कक्ष’ स्थापना गर्न सकिन्छ जसले युवालाई आफ्नो सानो उत्पादनलाई व्यवसायमा उकास्न सहयोग गर्न सक्थ्यो ।
अन्ततः प्रश्न एउटै छः राजनीतिक शक्ति युवालाई भीड बनाउने साधन मात्र हो कि सम्भावना उत्पादन गर्ने संयन्त्र ? युवाहरू आज पार्टीको विस्तारित बैठक भन्दा बजार, ब्रान्ड र प्रविधिको भाषा सिक्न चाहन्छन् । उनीहरू संघर्ष गर्न तयार छन् तर संघर्षको परिणाम ‘पद’ होइन, उत्पादन र पहिचान बन्न चाहन्छन् ।
यतिबेला एमालेले आफ्नो संगठनभित्र ‘उद्यमी कार्यकर्ता’को पहिचान निर्माण गर्न सकेन भने, यो पुस्ता राजनीतिक भाषणले होइन, व्यावहारिक नवप्रयोगले दिशा खोज्दै पार्टी संरचना बाहिरै आफ्नो मार्ग खोज्न बाध्य हुनेछ ।