डाक्टर महावीर पुन बिर्तामोड नगरपालिकामा 

बिर्तामोड, ५ साउन : राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि बिर्तामोड नगरपालिकाले ५० हजार रुपैयाँ सहयोग गरेको छ।
आज एक कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाईले ५० हजार रुपैयाँ बराबरको ‘महावीर पुन- सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक खरिद गरेर सहयोग गर्नु भएको हो ।

कार्यक्रममा नगर प्रमुख प्रसाईले केन्द्रका अध्यक्ष महावीर पुनको प्रशंसा गर्दै उहाँले सञ्चालन गरेको अभियान अत्यन्त महत्वपूर्ण रहेको बताउनु भयो । नगर प्रमुख प्रसाईले पुस्तक खरिद गरेर सहयोग गर्न सबैलाई आग्रहसमेत गर्नु भएको छ ।
त्यसैगरी, नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले डा. पुनको प्रयासको सम्मान र प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

डा. महावीर पुनले आफ्नो जीवन कथामा आधारित पुस्तक ‘महावीर पुन- सम्झना, सपना र अविरल यात्रा’ देशका विभिन्न पालिकामा पुगेर बिक्री गर्दै आउनुभएको छ।

कार्यक्रममा बोल्दै डा. पुनले पुस्तक मुख्यतः युवाहरूलाई लक्षित गरेर लेखिएको जानकारी दिनुभयो। साथै, सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र नबस्न आग्रह गर्दै, देशका लागि आ–आफ्नो तर्फबाट सानो भए पनि योगदान गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले राष्ट्रिय आविष्कार केन्द्रमा हाल १५ प्रकारका कृषि औजार उत्पादन भइरहेको जानकारी दिनुभयो। ती उपकरणहरू भविष्यमा पालिकाका साना किसानहरूका लागि लाभदायक हुने विश्वास व्यक्त गर्नुभयो।

डा. पुनका अनुसार हालसम्म २ लाख १८ हजार प्रति पुस्तक बिक्री भइसकेको छ, जसबाट खर्च कटाएर १२ करोड रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा भइसकेको छ। उक्त पुस्तकको मूल्य प्रति ७५० रुपैयाँ रहेको छ।

Leave a Reply