झापा , बिर्तामोड । ठिक एक वर्षअघि झापाको बिर्तामोड नगरपालिका–५ मा स्थापना भएको गायत्री माताको मन्दिरले आफ्नो प्रथम वार्षिकोत्सव अत्यन्तै भव्य, श्रद्धामय र भक्तिभावले ओतप्रोत वातावरणमा सम्पन्न गरेको छ । पूर्वमै पहिलो पटक स्थापना भएको यस पवित्र धाममा शुक्रबार दिनभरि विशेष पूजा–अनुष्ठान, धार्मिक प्रवचन तथा साँझ भव्य भजन सन्ध्याको आयोजना गरी वार्षिकोत्सव मनाइएको हो ।

साँझ पर्दासँगै गायत्री भजन तथा धार्मिक गीतहरूले मन्दिर परिसर गुञ्जायमान बन्यो । “गायत्री भजन सहित धार्मिक भजनले गुञ्जियो गायत्री मन्दिर, श्रद्धालुले उल्लासमय बनाए गायत्री मन्दिरलाई” भन्ने दृश्य सजीव बनेको थियो । प्रसिद्ध भजन गायक राजु अधिकारी, रोशन अधिकारी र गुञ्जन दाहालसहितको टोलीले प्रस्तुत गरेका भक्तिगीतले हजारौँ श्रद्धालुलाई भावविभोर बनाएको थियो । “प्रसिद्ध भजन गायक राजु अधिकारीको टिमले गुञ्जायमान बनाए माहोल” भन्ने अनुभूति सबै भक्तजनले प्रत्यक्ष महसुस गरे ।

धार्मिक तथा सांस्कृतिक कार्यक्रममा विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, पूर्व मन्त्री सरिता प्रसाईं, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतरा प्रसाईं, उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नम्बर ३ का अध्यक्ष मदन बुढाथोकी वडा नम्बर ५ का अध्यक्ष रोहित प्रसाइ अरिदमण गण चारआलीका प्रमुख सेनानी सरोज थापा, राष्ट्रिय अनुसन्धान विभाग झापाका उप–निर्देशक उमेश पाण्डेलगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । हजारौँ भक्तजनले दीप प्रज्वलन, भजन सन्ध्या र आरतीमा सहभागी भई वार्षिकोत्सवलाई उल्लासमय बनाएका थिए ।
