२९ भदौ, झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन् ।

पार्टी परित्यागको घोषणा गर्दै उनले भनिन्, “अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला, मैले पार्टी छाडे ।”
श्रेष्ठले पार्टी केन्द्रीय समितिलाई जानकारी दिँदै रास्वपा नेतृत्वले गल्तीमाथि गल्ती गर्ने तर स्वीकार नगर्ने प्रवृत्तिप्रति आपत्ति जनाइन् । उनले भनिन्, “गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ सबैले बोकिदिनुपर्ने ? आलोचना गर्नेहरूलाई मिडिया ट्रायलमार्फत दु:ख दिने काम भइरहेको छ ।”
उनका अनुसार रास्वपाभित्र पार्टी र नेतामाथि अन्धविश्वास बढ्दै गएको छ । “जहिलेदेखि रास्वपाले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थाल्यो, त्यही बेलादेखि म आलोचना गर्दै आएको हुँ,” उनले स्पष्ट पारिन् ।
श्रेष्ठ यसअघि रास्वपाको सह-महामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । समानुपातिक तर्फबाट सांसद बनेकी उनी प्रचण्ड नेतृत्वको सरकारले गठन गर्दा शिक्षामन्त्री बनेकी थिइन् ।