झापा ,बिर्तामोड ,जेष्ट – ९ / झापाको बिर्तामोड नगरपालिका नगर शिक्षा शाखाको सहयोगमा किसानहरूका लागि “धानबाली सम्बन्धी एक दिने सचेतना कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रम विराट सामुदायिक सिकाइ केन्द्र, बिर्तामोड–३ सैनिकमोड, झापामा आयोजना गरिएको थियो।

कार्यक्रममा विराट सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष रुद्र सिटौलाको अध्यक्षता रहेको थियो भने बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र सग्रौलाको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी पूर्व राष्ट्रिय सभा सदस्य हरिचरण शिवाकोटी र बिर्तामोड नगरपालिकाकी कृषि शाखा प्रमुख सरिता तामाङको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र सग्रौलाले कृषि क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै किसानलाई आत्मनिर्भर बनाउन र नगरलाइ विषादी रहित सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए। उनले किसानको उत्पादन वृद्धि र आयआर्जनमा टेवा पुग्ने खालका कार्यक्रमलाई नगरपालिकाले निरन्तर प्राथमिकता दिने उल्लेख गरे।
त्यसैगरी प्रशिक्षक बिमल तामाङले धानबालीमा देखिने रोग तथा किराको नियन्त्रण, उन्नत बीउको प्रयोग, मल व्यवस्थापन र आधुनिक खेती प्रणालीबारे जानकारी गराएका थिए। उनले समयअनुसार वैज्ञानिक तरिकाले खेती गर्न सके उत्पादनमा वृद्धि हुने बताएका थिए।
विराट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष होम सिटौला, सञ्चालक सदस्यहरू टिका लामिछाने र राजु चाम्लिङ, संस्थाका व्यवस्थापक तेज पाठक त्यस्तै बिर्तामोड नगरपालिकाका कृषि शाखा कर्मचारी सुदिप शाह लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमले किसानहरूलाई कृषिका लागी आवश्यक जानकारी प्रदान गर्दै धान उत्पादन वृद्धि र आधुनिक खेतीप्रति थप सचेत बनाउने विश्वास लिइएको संस्थका अध्यक्ष रुद्र सिटौला जानकारी दिए।भने उक्त कार्यक्रमको सञ्चालन टिका अधिकारीले गरेका थिए।

