झापा ,बिर्तामोड ,जेष्ट – १५ गते / गणतन्त्र दिवसको शुभकामना दिदै केपी शर्मा ओलीले भने आजभन्दा ठीक अठार वर्षअघि नेपाली जनताले आफ्नै निर्वाचित संविधानसभामार्फत गणतन्त्र घोषणा गरेर इतिहास रचेका थिए। यो दिन केवल शासन प्रणाली परिवर्तनको दिन मात्र होइन, नेपाली जनताको सार्वभौम अधिकार, आत्मसम्मान र लोकतान्त्रिक चेतनाको विजयको प्रतीक पनि हो।

जनताले आफ्ना लागि आफैंले शासन व्यवस्था निर्धारण गर्ने अधिकार प्राप्त गर्न सात दशकभन्दा लामो संघर्ष गर्नुपर्यो। बोल्ने, लेख्ने, संगठित हुने र आफ्नो राजनीतिक विचार राख्ने अधिकारका लागि हजारौं अग्रजहरूले जीवन अर्पण गरे। धेरैले जेल, यातना र निर्वासन भोगे। ती महान् संघर्ष र बलिदानकै परिणामस्वरूप हुकुमी शासनको अन्त्य भयो र कानुन तथा जनमतबाट सञ्चालन हुने लोकतान्त्रिक व्यवस्था स्थापित भयो।
यस ऐतिहासिक अवसरमा लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्याउने सम्पूर्ण अग्रजहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु।
गणतन्त्र केवल शासन परिवर्तन थिएन, यो नेपाली समाजको चेतनामा आएको गहिरो रूपान्तरण पनि थियो। शताब्दीयौँसम्म ‘प्रजा’ भएर बाँचिरहेको समाज आफ्नै संविधानमार्फत सार्वभौम नागरिकमा रूपान्तरित भएको थियो। लोकतान्त्रिक अभ्यासलाई परिपक्व बनाउन समय लाग्छ, र हामीले यही यात्रालाई अनुभव गरिरहेका छौं।
छोटो अवधिमै देशमा सामाजिक, भौतिक र संस्थागत विकासका थुप्रै उपलब्धि हासिल भएका छन्। गाउँगाउँमा पुगेको स्थानीय सरकार, महिला, दलित, जनजाति, मधेशी तथा पिछडिएका समुदायको बढ्दो प्रतिनिधित्व, अभिव्यक्ति स्वतन्त्रता, डिजिटल सेवाको विस्तार, सडक र सञ्चार पूर्वाधारको विकास यी सबै गणतन्त्रका महत्वपूर्ण उपलब्धिहरू हुन्।
उनले भने यद्यपि परिवर्तनको गति जनअपेक्षाअनुसार तीव्र हुन सकेको छैन। यसले असन्तुष्टि जन्माउन सक्छ, तर ती असन्तुष्टिको वैधानिक समाधान खोज्ने आधार पनि लोकतान्त्रिक गणतन्त्र नै हो। लोकतन्त्र कमजोर भए जनताको अधिकार कमजोर हुन्छ, संस्थामाथिको विश्वास घट्छ र अधिनायकवादको खतरा बढ्छ।
त्यसैले संविधान, संसद, न्यायपालिका, स्वतन्त्र प्रेस तथा लोकतान्त्रिक संस्थाहरूको रक्षा गर्नु आजको प्रमुख आवश्यकता हो। यी संस्थाहरू बलियो भए मात्रै समाज बलियो हुन्छ, नागरिक अधिकार सुरक्षित रहन्छ र देश समृद्धिको दिशामा अघि बढ्न सक्छ।
ओलीले भनेका छन गणतन्त्र दिवसको यस ऐतिहासिक अवसरमा लोकतन्त्र प्राप्तिका लागि भएका संघर्ष, बलिदान र योगदानलाई स्मरण गर्दै लोकतान्त्रिक मूल्य, मान्यता र संस्थाहरूलाई अझ सुदृढ बनाउन सबैमा आह्वान गर्दछु।
अन्त्यमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा गणतन्त्र दिवसको हार्दिक शुभकामना ब्याक्त गरेका छन l