कोशी प्रदेश सरकार चाँडै पुनर्गठन हुने 

झापा बिर्तामोड । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार चाँडै पुनर्गठन गर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार विराटनगरमा आयोजित प्रदेशस्तरीय शालिग्राम-मञ्जु दाहाल पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उहाँले प्रदेश सरकार पुनर्गठनका विषयमा गठबन्धन दलका नेतासँग छलफल गरी निर्णय गर्ने जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेतासमेत रहनुभएका मुख्यमन्त्री कार्कीले आफ्नो पार्टी आगामी संसदीय निर्वाचनबाट नभाग्ने बताउँदै यसका लागि सरकारले निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री कार्कीले सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनमा मोरङबाट केन्द्रीय सदस्य जीवन घिमिरे, ऋषिकेश पोखरेल, दिलीप अग्रवाल र पर्शुराम बस्नेतलाई बधाई दिएका थिए । 

त्यसैगरी यस वर्षको शालिग्राम-मञ्जु दाहाल पत्रकारिता पुरस्कारबाट उदयपुरको कटारीकी रेणु पराजुलीलाई रु २१ हजारसहित सम्मानित गरिएको छ ।

चौतारी मोरङ अध्यक्ष चीना थापा, इन्चार्ज सुमन सुस्केरा, उपाध्यक्ष जुनु भट्टराईलगायतले समाजमा पछाडि परेका वर्गको उत्थानमा सञ्चारकर्मीले कलम चलाउनुपर्ने सुझाव दिए।