विश्व वातावरण दिवसमा भद्रपुर जेसीजद्वारा १०० बिरुवा रोपण

झापा । विश्व वातावरण दिवसको अवसरमा भद्रपुर जेसीजले हिजो भद्रपुर नगरपालिका–६ स्थित गुरुकुल वेद आश्रम परिसरमा विभिन्न प्रजातिका १०० वटा बिरुवा रोपेर वातावरण दिवस मनाएको छ।

भद्रपुर जेसीजको आयोजना तथा जुनियर जेसीजको सह–आयोजनामा सम्पन्न कार्यक्रम भद्रपुर जेसीजका अध्यक्ष जेसी सुरेन्द्रकुमार खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने गुरुकुल वेद आश्रमका प्राचार्य जीवन भट्टराई विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो। साथै भद्रपुर जेसीजका पदाधिकारी तथा सदस्यहरू, जुनियर जेसीजका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको संयोजन भद्रपुर जेसीजका उपाध्यक्ष जेसी सनम शशाङ्करले गर्नुभएको थियो भने सञ्चालन महासचिव जेसी सुरज श्रेष्ठले गर्नुभएको थियो।

कार्यक्रममा वक्ताहरूले वातावरण संरक्षण, वृक्षारोपणको महत्व तथा भावी पुस्ताका लागि हरित वातावरण निर्माणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। वृक्षारोपण अभियानले वातावरणीय सन्तुलन कायम राख्न तथा समुदायमा वातावरणप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो।

Leave a Reply