बिर्तामोड, झापा । नेपाल पत्रकार महासंघ झापा शाखाको सचिव पदको बाँकी डेढ वर्षे कार्यकालका लागि प्रदीप परियारले औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएको छ।

आइतबार महासंघको कार्यालयमा आयोजित बैठकमा डेढ वर्षे कार्यकाल पूरा गर्नुभएका सचिव राजु पाठकले सचिव परियारलाई माइन्युट तथा आवश्यक कागजात हस्तान्तरण गर्दै जिम्मेवारी सुम्पनुभएको हो।
नेपाल पत्रकार महासंघ झापा शाखाको तीन वर्षे कार्यकालका लागि २०८१ मंसिर २८ गते सम्पन्न निर्वाचनमा सचिव पदका उम्मेदवार प्रदीप परियार र राजु पाठकले समान ९९–९९ मत प्राप्त गर्नुभएको थियो। त्यसपछि निर्वाचन समितिले पहिलो डेढ वर्षे कार्यकाल राजु पाठकले तथा दोस्रो डेढ वर्षे कार्यकाल प्रदीप परियारले सम्हाल्ने निर्णय गरेको थियो।
कार्यभार हस्तान्तरण कार्यक्रममा महासंघका पदाधिकारी तथा सदस्यहरूले सचिव पाठकले आफ्नो कार्यकालमा निर्वाह गर्नुभएको योगदान र भूमिकाको प्रशंसा गरेका थिए। सो अवसरमा महासंघका अध्यक्ष एकराज गिरीले खादा लगाएर सचिवद्वय पाठक र परियारलाई सम्मान तथा स्वागत र बिदाइ गर्नुभएको थियो।
निवर्तमान सचिव राजु पाठकले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सबैको साथ, सहयोग र विश्वास प्राप्त भएको उल्लेख गर्दै आगामी दिनमा पनि महासंघका गतिविधिमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नवनियुक्त सचिव प्रदीप परियारले नेपाल पत्रकार महासंघ झापा शाखालाई अझ रचनात्मक, सक्रिय र प्रभावकारी संस्थाका रूपमा अगाडि बढाउन आफू प्रतिबद्ध भएर काम गर्ने बताउनुभयो। उहाँले पत्रकारहरूको हकहित, व्यावसायिक क्षमता अभिवृद्धि तथा संस्थागत सुदृढीकरणका पक्षमा विशेष ध्यान दिने धारणा समेत राख्नुभयो।