असार २६ मा ‘झापा रकस्टार’ सिजन–३ को ग्रान्ड फिनाले पाँच उत्कृष्ट ब्यान्डबीच प्रतिस्पर्धा

बिर्तामोड, असार २४ / पूर्वी नेपालको चर्चित खुला ब्यान्ड प्रतियोगिता ‘झापा रकस्टार’ सिजन–३ को बहुप्रतीक्षित ग्रान्ड फिनाले असार २६ गते बिर्तामोडस्थित अग्रसेन भवनमा आयोजना हुने भएको छ। कोशी प्रदेशस्तरीय यस सांगीतिक महोत्सवमा फिजिकल अडिसनबाट छनोट भएका पाँच उत्कृष्ट ब्यान्डबीच उपाधिका लागि रोमाञ्चक प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

ग्रान्ड फिनालेको तयारीबारे जानकारी दिन बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतियोगिताका विजेताले प्राप्त गर्ने आकर्षक ट्रफी सार्वजनिक गरिएको थियो। कार्यक्रममा आयोजकले यस वर्षको प्रतियोगितामा जगदम्बा टिभिएस मुख्य प्रायोजकका रूपमा आबद्ध भएको जानकारी दिएको छ।

प्रतियोगिताका अध्यक्ष अमृत पौडेलले ‘झापा रकस्टार’ केवल ब्यान्डबीचको प्रतिस्पर्धा नभई नयाँ पुस्ताका प्रतिभाशाली संगीतकर्मीलाई राष्ट्रिय स्तरसम्म चिनाउने एउटा महत्वपूर्ण मञ्च बनेको बताए। उनले संगीतप्रेमी, कलाकार र दर्शकलाई एउटै छानामुनि जोड्ने सांगीतिक उत्सवका रूपमा ‘झापा रकस्टार’लाई स्थापित गर्ने लक्ष्य रहेको उल्लेख गरे।

कार्यक्रममा बोल्दै टिभिएसका नेसनल सेल्स हेड हरि न्यौपानेले युवासँग प्रत्यक्ष जोडिने अवसर मिलेकोमा खुशी व्यक्त गर्दै ग्रान्ड फिनालेकै अवसरमा टिभिएस अपाची आरटीआर १६० को क्षेत्रीय (रिजनल) लन्च गरिने जानकारी दिए। साथै प्रतियोगितामा सहभागी कुनै एक उत्कृष्ट ब्यान्डलाई टिभिएसको आधिकारिक ब्रान्ड गीत निर्माण गर्ने विशेष अवसर पनि प्रदान गरिने उनले घोषणा गरे।

कार्यक्रम निर्देशक सुनिता तामाङका अनुसार फिजिकल अडिसनबाट आवाज ब्यान्ड (इलाम), यात्री ब्यान्ड (चारआली), बास क्लेफ ब्यान्ड (बिर्तामोड), राग भर्स (बिर्तामोड) र जेनियम ब्यान्ड (धुलाबारी) अन्तिम पाँचमा छनोट भएका छन्। यी पाँच ब्यान्डले अब ग्रान्ड फिनालेमा आफ्नो सांगीतिक क्षमता प्रस्तुत गर्दै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

वैशाख ५ गतेदेखि डिजिटल आवेदन खुला गरिएको प्रतियोगितामा १२ वटा ब्यान्डको सहभागिता रहेको थियो। असार १५ गते सम्पन्न फिजिकल अडिसनमा सात ब्यान्ड सहभागी भएकामध्ये उत्कृष्ट प्रदर्शनका आधारमा पाँच ब्यान्डलाई फाइनलका लागि छनोट गरिएको कार्यक्रमका जनसम्पर्क अधिकृत प्रकाश संग्रौलाले जानकारी दिए।

अमृत स्टोरको प्रस्तुतिमा तथा एनएसएस इभेन्ट्सको व्यवस्थापनमा आयोजना हुन लागेको प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगद, म्युजिक भिडियो निर्माण गर्ने अवसर, विभिन्न प्रतिष्ठित ब्रान्डका गितार तथा पोर्टफोलियो फोटोसुट प्राप्त गर्नेछन्। दोस्रो स्थान हासिल गर्ने ब्यान्डले ३० हजार रुपैयाँ तथा तेस्रो हुने ब्यान्डले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

आयोजकका अनुसार झापा रकस्टारले पूर्वी नेपालको सांगीतिक प्रतिभालाई उजागर गर्दै नयाँ ब्यान्डलाई व्यावसायिक संगीत क्षेत्रमा प्रवेश गर्ने अवसर सिर्जना गर्दै आएको छ। यस वर्षको ग्रान्ड फिनाले पनि दर्शक, संगीतप्रेमी र कलाकारहरूको उल्लेखनीय सहभागितासहित भव्य रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ।

Leave a Reply