बिर्तामोड, झापा । नेपालीहरूको महान् पर्व बडादशैंलाई स्वागत गर्न झापाको बिर्तामोड–९ स्थित नव आदर्श टोल विकास संस्थाले यस वर्ष पनि परम्परागत लिङ्गे पिङ निर्माण सम्पन्न गरेको छ।

हिजो शनिबार टोलका बासिन्दा, युवा र अभिभावकहरूको सक्रिय सहभागितामा पिङ निर्माण कार्य सम्पन्न भएको हो।
संस्थाका अध्यक्ष प्रकाश आचार्यका अनुसार लिङ्गे पिङ केवल रमाइलोका लागि मात्र नभई परम्पराको प्रतीक हो। उनले भने, “हाम्रो संस्कृतिको सुन्दर पक्ष नै लिङ्गे पिङ हो। पुराना पुस्ताले सिकाएको सीप अहिलेको नयाँ पुस्ताले पनि सिक्दैछ। यसरी परम्पराको संरक्षण र हस्तान्तरण हुँदै जान्छ।”
दशैंमा “भुइँ छुन्नु हुँदैन” भन्ने मान्यताअनुसार पिङ खेल्नु शुभ मानिन्छ। गाउँ–सहरका चौतारी र टोलमा पिङ खेल्दा रमाइलोसँगै समुदायबीच आपसी मेलमिलाप र भाइचाराको भावना अझ प्रगाढ हुने विश्वास गरिएको छ।
यस वर्ष टोलमा विभिन्न ठाउँबाट आउने आगन्तुकलाई पिङ खेलाएर स्वागत गर्ने तयारी गरिएको छ। आगन्तुकलाई सहज बनाउन व्यवस्थापन पक्षले विशेष ध्यान दिएको छ। त्यस्तै यो संरक्षकका लागी सहयोग गर्न इच्छुक व्यक्तिहरूका लागि QR कोडको व्यवस्था पनि गरिएको अध्यक्ष आचार्यले बताए।
लिङ्गे पिङ बनाउन बाँस काट्ने, गाँठ बाँध्ने, दाम्लो कस्ने जस्ता काममा युवादेखि वृद्धसम्मले सक्रिय भूमिका खेलेका छन्। सामूहिक श्रममार्फत टोलभित्र सामाजिक एकता र सहकार्य अझ मजबुत बनेको टोलबासीहरूको भनाइ छ।
यसै अवसरमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण टोलबासी, दाता, शुभेच्छुक तथा सहयोगी हातहरूप्रति संस्थाले हार्दिक धन्यवाद प्रकट गरेको छ।
