मेची राजमार्ग पूर्ण अवरुद्ध इलाम, पाँचथर र ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

इलाम, असार – २९  / लगातार दुई दिनदेखि परेको अविरल वर्षाका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क राज दुवाली सडक खण्ड भासिएपछि सडक पूर्ण रूपमा बन्द गरिएको छ। सडक थप जोखिमपूर्ण बनेपछि सोमबारदेखि सबै प्रकारका सवारीसाधनको आवागमन अनिश्चितकालका लागि रोकिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार उक्त सडकमा विगत चार दिनदेखि ठूला सवारीसाधन सञ्चालन हुन सकेका थिएनन्। आइतबारसम्म मोटरसाइकल सञ्चालन गर्न दिइए पनि रातिको वर्षासँगै सडक थप भासिएपछि जोखिम बढेकाले सबै प्रकारका सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द गरिएको हो।

सडक अवरुद्ध भएसँगै इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङको झापासँगको मुख्य सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। यसका कारण झापाबाट पहाडी जिल्लातर्फ र पहाडी जिल्लाबाट झापातर्फ गइरहेका सयौँ यात्रु तथा मालवाहक सवारीसाधन माई खोलाको दुवै किनारमा अलपत्र परेका छन्।

प्रमुख जिल्ला अधिकारी ढकालले लगातारको वर्षाले सडक भासिने र विभिन्न स्थानमा पहिरो झर्ने क्रम नरोकिएकाले यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै सडक बन्द गर्नुपरेको बताए। उनका अनुसार मौसममा सुधार नआएसम्म सडक सञ्चालन गर्ने अवस्था छैन।

यसअघि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको तिल्केनी सिमलगोला सडक पनि जोगमाई खोलाको डाइभर्सन आइतबार आएको बाढीले बगाएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, इलाम–झापा जोड्ने छोटो दूरीको केचना–कञ्चनजङ्घा सडक (मेची करिडोर) अन्तर्गत पुवा खोलाको डाइभर्सन पनि बाढीले बगाउँदा इलाम, पाँचथर र ताप्लेजुङको झापासँगको सम्पर्क पूर्ण रूपमा टुटेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

सडक डिभिजन कार्यालय इलामका प्रमुख भवन भट्टराईका अनुसार जोगमाई र पुवा खोलामा बेली ब्रिज जडानका लागि आवश्यक सिभिल संरचना डेढ महिनाअघि नै तयार भइसकेको भए पनि भारत सरकारले उपलब्ध गराउने बेली ब्रिजको सामग्री हालसम्म आइपुग्न नसक्दा समस्या समाधान हुन सकेको छैन। समयमै पुल निर्माण हुन नसक्दा वर्षायाममा सडक सञ्जाल थप प्रभावित बनेको स्थानीयको गुनासो छ।

सडक पूर्ण रूपमा बन्द भएपछि अत्यावश्यक कामका लागि यात्रा गर्ने सर्वसाधारण जोखिम मोलेर पहिरो प्रभावित राज दुवाली क्षेत्र पैदल पार गर्न बाध्य भएका छन्। प्रशासनले जोखिमपूर्ण क्षेत्रमा अनावश्यक यात्रा नगर्न, मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न तथा वैकल्पिक व्यवस्था नभएसम्म सम्बन्धित जिल्लातर्फ यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Leave a Reply