बिर्तामोड । साना तथा मझौला व्यवसायी महासंघ कोशी प्रदेश तथा झापा शाखाको आयोजनामा व्यवसायी हित तथा उद्यम विकासका लागि सञ्चालन भइरहेको ‘उदय परियोजना’बारे छलफल कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ।

मंगलबार बिर्तामोडस्थित होलिडे होम होटलमा आयोजित कार्यक्रममा कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय तथा उदय परियोजनाका कार्यक्रम विज्ञहरूले परियोजनाका विषयमा सहजीकरण गरेका थिए।
साना तथा मझौला व्यवसायी महासंघ झापाका अध्यक्ष यज्ञराज कडरियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव खगेन्द्र सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा मन्त्रालयका कार्यक्रम व्यवस्थापक विमल बास्कोटा, साना तथा मझौला व्यवसायी महासंघ कोशी प्रदेशका सचिव दिनेश भक्त श्रेष्ठ, उदय परियोजना व्यवसायिक सेवा प्रमुख विष्णु काफ्ले, परियोजनाका प्राविधिक सहायता प्रमुख मोहन गौतमलगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा उदय परियोजनाको विस्तृत खाका, प्राविधिक पक्ष, व्यवसायीले आफ्ना उद्यम परियोजना तयार गर्दा अपनाउनुपर्ने प्रक्रिया तथा बैंक र वित्तीय साझेदारहरूसँगको सहकार्यका विषयमा जानकारी गराइएको थियो। व्यवसायीहरूलाई उद्यम विस्तार, व्यवसाय सञ्चालनमा देखिएका चुनौती तथा परियोजनाबाट प्राप्त गर्न सकिने सहयोगका विषयमा समेत छलफल गरिएको थियो।
कार्यक्रममा पानी उद्योग, अप्टिकल उद्योग, प्याकेजिङ उद्योग, छापाखानालगायत विभिन्न क्षेत्रका ३० भन्दा बढी व्यवसायीको सहभागिता रहेको साना तथा मझौला व्यवसायी महासंघ झापाका सचिव अनुप सापकोटाले जानकारी दिए।
सापकोटाका अनुसार उदय परियोजनामार्फत साना तथा मझौला व्यवसायीको क्षमता विकास, उद्यम प्रवर्द्धन तथा व्यवसायलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउन आवश्यक सहयोग तथा सहकार्यका विषयमा व्यवसायीलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।