झापा, बिर्तामोड । झापाको बिर्तामोडमा ट्यांकरको ठक्करबाट मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ ।

मृतक पाँचथरको साविक नागी गाउँपालिका वडा नं ६ बस्ने ३२ वर्षीय गायत्री कट्टेल भएको बिर्तामोड प्रहरीले जनाएको छ ।
बिर्तामोड वडा न.२ स्थित रामचोकनजिकै गन्तब्य डान्सबार अगाडी पूर्वपश्चिम राजमार्गमा ट्यांकरको ठक्करबाट कट्टेलको मृत्यु भएको हो । उनी बीच सडकमा लडिरहेको अवस्थामा स्थानीयले देखेर आज बिहान ४ बजे इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी गराएका थिए । गम्भीर अबस्थाका घाइते कट्टेललाई उपचारको लागि बिर्तामोडस्थित बिर्तासिटि अस्पतालमा पठाइएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।
ठक्कर दिएर फरार भएको ना ४ ख ९११० न.को तेल बोक्ने ट्यांकरलाई मेचीनगर वडा न.१३ स्थित मेट्रो पेट्रोल पम्प चारआलीस्थित पार्किङ गरी राखेको अबस्थामा फेला पारी नियन्त्रणमा लिएको छ । ट्यांकर चालक फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।