बिर्तामोड । भदौ १० गते आएको भीषण बाढी तथा विपद्का कारण भएको मानवीय र भौतिक क्षतिलाई मध्यनजर गर्दै बिर्तामोड–३, झापास्थित विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तथा विराट सामुदायिक अध्ययन केन्द्र (BCLC) ले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन्।

विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले विभिन्न शीर्षकबाट संकलित गरी कुल १ लाख ३९ हजार ७१८ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
सहकारी संस्थाका तर्फबाट विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट ५१ हजार रुपैयाँ, कर्मचारी परिवारबाट एक दिनको पारिश्रमिकबापत २२ हजार ४१८ रुपैयाँ तथा सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका सदस्यहरूले एक बैठक भत्ताबापतको १५ हजार ३०० रुपैयाँ सहयोग गरेका छन्।त्यस्तै, विराट सामुदायिक अध्ययन केन्द्र (BCLC), बिर्तामोड–३, झापाले ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
यसरी संस्था, कर्मचारी, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा विराट सामुदायिक अध्ययन केन्द्रको संयुक्त पहलमा संकलित रु. १,३९,७१८ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको जनाइएको छ।

