एनएमसीको प्रमुख कार्यकारी अधिकृतमा सूर्यप्रसाद रिमाल नियुक्त

वेद प्रकाश दवाडी
झापा, १५ भदौ : नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) को प्रमुख कार्यकारी अधिकृत (CEO) मा सूर्यप्रसाद रिमाल नियुक्त हुनुभएको छ। संस्थाको सञ्चालक समितिको भदौ १० गते बसेको बैठकले खुला प्रतिस्पर्धाबाट रिमाललाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो।

रिमालले आगामी असोज १ गतेदेखि एनएमसीको व्यवस्थापनको नेतृत्व सम्हाल्नुहुनेछ। यसअघि प्रमुख कार्यकारी अधिकृत रहनुभएका लक्ष्मीप्रसाद उप्रेती राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा निर्वाचित भएपछि उहाँले गत जेठमा पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि रिक्त रहेको CEO पदमा नियुक्तिका लागि एनएमसीले असार १५ गते खुला दरखास्त आह्वान गरेको थियो।

प्रमुख कार्यकारी अधिकृत पदका लागि प्राप्त आवेदनमध्ये प्रारम्भिक छनोटमा परेका उम्मेदवारबीच भदौ ६ र ७ गते व्यावसायिक योजना प्रस्तुति तथा अन्तर्वार्ता गरिएको थियो। सो प्रक्रियाबाट प्राप्त मूल्याङ्कनका आधारमा रिमाल छनोट हुनुभएको एनएमसीले जनाएको छ।
मोरङको बेलबारी–४ निवासी रिमालले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर (एमबीएस), व्यवस्थापनमा स्नातक (बीबीएस) र शिक्षाशास्त्रमा स्नातक (बीएड) गर्नुभएको छ।

उहाँले पथरी बहुमुखी क्याम्पसमा नौ वर्ष अध्यापन गर्नुका साथै मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गर्नुभएको थियो। मनकामना साकोसमा रहँदा संस्थालाई ‘ACCESS Branding’ प्राप्त गराउने प्रक्रियामा उहाँको महत्त्वपूर्ण भूमिका रहेको थियो।
एनएमसीको प्रमुख कार्यकारी अधिकृत (CEO) मा छनोट हुनुअघिसम्म रिमाल राष्ट्रिय सहकारी बैंकमै कार्यरत हुनुहुन्थ्यो। करिब नौ वर्ष सो बैंकमा बिताउनुभएका उहाँले ‘सहकारी स्तरीकरण अधिकृत’ का रूपमा सहकारी स्तरीकरण कार्यक्रमको व्यवस्थापन गर्नुभएको थियो। उहाँसँग सहकारी व्यवस्थापन, वित्तीय व्यवस्थापन, सुशासन, जोखिम व्यवस्थापन तथा संस्थागत नीति निर्माणलगायत क्षेत्रमा लामो कार्यअनुभव छ।

रिमालले Asian Confederation of Credit Unions (ACCU) बाट ‘Certified Cooperative Director’, ‘Access Master Auditor’ र ‘Culeg Master Auditor’ को मान्यता प्राप्त गर्नुभएको छ।

वि.सं. २०५० फागुन २४ गते स्थापना भएको एनएमसीले नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबारको स्वीकृति प्राप्त गरेको छ। झापा, इलाम र मोरङ कार्यक्षेत्र रहेको संस्थाको २०८३ असार मसान्तसम्मको तथ्याङ्कअनुसार कुल वासलात १५ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी छ।
एनएमसीले बचत तथा ऋणको कारोबारसँगै डेरी, एग्रो फार्म, सहकारी पसल र चिया उद्योग सञ्चालन गर्दै आएको छ। संस्थाका ५७ वटा सेवाकेन्द्र र १९ वटा ‘कोपसप’ सञ्चालनमा छन्। चिया व्यवसायअन्तर्गत चार व्यावसायिक एकाइ सञ्चालनमा रहेको संस्थाले जनाएको छ।
हाल संस्थामा एक लाख ७० हजारभन्दा बढी सदस्य छन्। असोज १ गतेदेखि रिमालले वित्तीय कारोबारसँगै संस्थाका अन्य व्यवसाय र सेवा सञ्जालको समेत व्यवस्थापन जिम्मेवारी सम्हाल्नुहुनेछ।

Leave a Reply