बिर्तामोड । नेपालीहरूको महान् चाड विजयादशमी, शुभदीपावली तथा छठ पर्व नजिकिँदै गर्दा बिर्तामोड क्षेत्रमा हुन सक्ने चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय अनारमनीले विशेष सुरक्षा अभियान शुरु गरेको छ ।

चाडपर्वका समयमा मानिसहरू घर छाडेर घुमघाम तथा आफन्तकहाँ जाने क्रम बढ्ने र बजार तथा सार्वजनिक स्थानमा मानिसको चहलपहलसमेत बढ्ने भएकाले अपराधको जोखिमलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा सतर्कता बढाएको हो।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष पाठकको नेतृत्वमा प्रहरीले अपराध नियन्त्रणसँगै सर्वसाधारणमा सुरक्षा सचेतना फैलाउने अभियानलाई प्राथमिकतामा राखेको छ । समाजमा शान्ति–सुरक्षा कायम गर्नु नेपाल प्रहरीको पहिलो दायित्व भएकाले सम्भावित अपराधलाई घटना हुनुअघि नै रोक्ने रणनीतिअनुसार अभियान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले चाडपर्वका बेला विशेषगरी घरमा चोरी हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सर्वसाधारणलाई घर छाड्दा अपनाउनुपर्ने सावधानीबारे सार्वजनिक अपिलसमेत गरेको छ ।
डीएसपी पाठकका अनुसार सम्भव भएसम्म घरमा ताला लगाएर परिवारका सम्पूर्ण सदस्य एकैपटक बाहिर ननिस्कन आग्रह गरिएको छ । विशेष कामका कारण घरका सबै सदस्य बाहिर जानुपर्ने अवस्था आए विश्वासिलो व्यक्तिलाई घरको जिम्मेवारी दिन तथा छरछिमेकलाई समेत जानकारी गराएर मात्र घर बन्द गर्न प्रहरीले अनुरोध गरेको छ ।
त्यसैगरी घरको मुख्य भागमा सम्भव भएसम्म सीसीटीभी क्यामेरा जडान गर्न, सुनचाँदी, नगद तथा अन्य बहुमूल्य सामग्री सुरक्षित स्थानमा राख्न र घरमा मर्मत वा अन्य कामका लागि आउने व्यक्तिको गतिविधिमाथि निगरानी राख्न प्रहरीले आग्रह गरेको छ।
पछिल्लो समय अपराधीहरूले सामाजिक सञ्जालमा राखिएका सूचनालाई समेत दुरुपयोग गर्न सक्ने भएकाले सर्वसाधारणलाई सामाजिक सञ्जाल प्रयोगमा सावधानी अपनाउन डीएसपी पाठकले आग्रह गरे । घरमा कोही नभएको अवस्थामा लामो समयसम्म बाहिर घुमघाम गरिरहेको वा घर फर्किन बाँकी रहेको जानकारी दिने फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न प्रहरीले अनुरोध गरेको छ ।
प्रहरीका अनुसार सार्वजनिक रूपमा यस्ता सूचना राख्दा घर खाली रहेको जानकारी अनधिकृत व्यक्तिसम्म पुग्न सक्ने भएकाले चाडपर्वको समयमा सामाजिक सञ्जाल प्रयोग गर्दा थप सतर्कता आवश्यक छ ।
त्यस्तै घर वरपर तथा टोल–छिमेकमा नयाँ र शंकास्पद व्यक्तिको गतिविधिमाथि निगरानी राख्न र कुनै व्यक्ति वा गतिविधिप्रति शंका लागे तत्काल प्रहरीलाई जानकारी गराउन प्रहरीले आग्रह गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीले चाडपर्व लक्षित सुरक्षा अभियानलाई केवल प्रहरीको उपस्थितिमा सीमित नगरी समुदायको सहभागितासँग जोडेको छ ।
प्रहरीले सम्भावित अपराध नियन्त्रणका लागि स्थानीय बासिन्दा, टोल–समुदाय, व्यवसायी तथा विभिन्न सामाजिक संस्थासँग समन्वय र सहकार्यलाई जोड दिएको छ । अपरिचित तथा शंकास्पद व्यक्तिको गतिविधिबारे समयमै सूचना प्राप्त हुन सके सम्भावित अपराध नियन्त्रणमा प्रहरीलाई सहज हुने प्रहरीको भनाइ छ ।
डीएसपी पाठकको नेतृत्वमा अनारमनी प्रहरीले शान्ति–सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने तथा नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्दै आएको छ । चाडपर्वको समयमा मानिसहरूको आवागमन र आर्थिक कारोबार बढ्ने भएकाले सुरक्षा चुनौतीसमेत बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रहरीले आफ्नो निगरानी र समन्वयलाई प्रभावकारी बनाउने तयारी गरेको छ ।
प्रहरीले नागरिकलाई त्रसित बनाउनेभन्दा सचेत बनाउने उद्देश्यले सुरक्षा अभियान अघि बढाएको जनाएको छ । ‘सावधानी नै सुरक्षाको कडी हो’ भन्ने सन्देशसहित प्रहरीले नागरिकलाई आफ्नो घर, सम्पत्ति र वरपरको वातावरणप्रति सचेत रहन आग्रह गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीले कुनै घटना भएमा वा शंकास्पद व्यक्ति तथा गतिविधिबारे जानकारी प्राप्त भएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।
प्रहरीका अनुसार कार्यालय प्रमुखको सम्पर्क नम्बर ९८५२६७४९३३, इलाका प्रहरी कार्यालय अनारमनीको ९८५२६९०५०० र ९८५२६९००५५ मा सम्पर्क गरी सूचना दिन सकिने जनाएको छ । प्रहरीले चाडपर्वलाई सुरक्षित, मर्यादित र शान्तिपूर्ण बनाउन नागरिकको सचेतना र प्रहरीको सक्रियता दुवै आवश्यक रहेको जनाएको छ ।
चाडपर्वको अवसरमा घर तथा व्यवसायिक प्रतिष्ठान लामो समय बन्द रहने, मानिसको आवागमन बढ्ने र आर्थिक कारोबारसमेत बढी हुने भएकाले सुरक्षा सावधानी अपनाउन प्रहरीले विशेष आग्रह गरेको छ । प्रहरीले अपराध नियन्त्रण प्रहरीको मात्र जिम्मेवारी नभई नागरिकको सचेत सहभागिताले पनि सुरक्षा व्यवस्था थप प्रभावकारी बन्न बताएको छ ।