बिर्तामोड । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै बिर्तामोड नगरपालिका ३ निवासी युवा नेता मनोज बुढाथोकीले झापा क्षेत्र नम्बर २ प्रदेश ‘क’को सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।

खेलकुद, सामाजिक सेवा तथा राजनीतिक गतिविधिमा सक्रिय बुढाथोकीले कांग्रेस संगठनलाई थप सुदृढ, सक्रिय र जनमुखी बनाउने उद्देश्यसहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
उम्मेदवारी घोषणा गर्दै बुढाथोकीले कांग्रेसलाई निर्वाचनका समयमा मात्र सक्रिय हुने संगठनका रूपमा नभई हरेक समय जनतासँग जोडिने, जनताका समस्या र मुद्दामा निरन्तर सक्रिय रहने संगठनका रूपमा विकास गर्नुपर्ने बताएका छन्।
उनले पार्टी संगठनको वास्तविक आधार वडा तहका कार्यकर्ता र जनता भएको उल्लेख गर्दै तल्लो तहका कार्यकर्ताको भावना, आवश्यकता र सुझावलाई नेतृत्वसम्म पुर्याउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।बुढाथोकीले युवा पुस्तालाई नेतृत्वमा अवसर, कार्यकर्ताको सक्रियता र वडा तहसम्म पार्टी संगठनलाई थप व्यवस्थित बनाउने विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन्। युवाको ऊर्जा र नयाँ सोचलाई संगठन निर्माणमा जोड्दै कांग्रेसलाई थप गतिशील बनाउनुपर्ने उनको योजना छ।
उनले अनुभवी आग्रज नेतृत्वको अनुभव र नयाँ पुस्ताको ऊर्जाबीच समन्वय गर्दै पार्टीलाई अघि बढाउन आफूले भूमिका निर्वाह गर्न चाहेको बताएका छन्। नेतृत्वमा पुस्तान्तरणको बहसलाई केवल नारामा सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ।बुढाथोकी खेलकुद तथा सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्। स्थानीयस्तरमा विभिन्न सामाजिक तथा सार्वजनिक गतिविधिमा सहभागिता जनाउँदै आएका उनले त्यहाँबाट प्राप्त अनुभवलाई राजनीतिक संगठन निर्माणमा उपयोग गर्ने बताएका छन्।
उनको उम्मेदवारी घोषणासँगै झापा क्षेत्रम २ प्रदेश ‘क’को कांग्रेस राजनीतिमा आगामी अधिवेशनलाई लिएर थप चर्चा बढेको छ।
