बिर्तामोड, २६ पुस।
स्थानिय नागरिकको सामूहिक लगानीबाट स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यसहित बिर्तामोडमा स्थापना भएको नागरिक स्वास्थ्य सहकारीसंस्था लिमिटेडले आगामी वैशाखदेखि अस्पताल सेवा सुरु गर्ने तयारीका साथ निर्माण कार्य तीव्र बनाएको छ।

शनिबार सम्पन्न संस्थाको पाँचौँ वार्षिक साधारणसभामा अध्यक्ष युवराज दाहालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार भौतिक संरचना निर्माण, जनशक्ति व्यवस्थापन तथा आवश्यक उपकरण अध्ययनसँगै सेवा प्रारम्भको आन्तिम रुप लगभग तय भइसकेको छ।
मोरङ सहकारी अस्पतालका अध्यक्ष विकास अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा अध्यक्ष दाहालले अस्पताल निर्माणको सुरुआतदेखि गत असार मसान्तसम्मको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। सहकारीले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित बिर्तामोड–४ मा ११ कठ्ठा जग्गा लिजमा लिएर २०७७ सालदेखि अस्पताल भवन निर्माण सुरु गरेको हो। हाल भवन निर्माण कार्य अन्तिम चरणमा रहेको छ।
अध्यक्षको प्रतिवेदनअनुसार, गत असार मसान्तसम्म संस्थामा २७४ जना शेयर सदस्य आबद्ध भइसकेका छन्। स्थापना कालदेखि हालसम्म शेयरमार्फत ३ करोड ७१ लाख ५३ हजार रुपैयाँ पूँजी संकलन भइसकेको छ भने निर्माणाधीन भवनका लागि ७० लाख रुपैयाँ भुक्तानी दायित्व बाँकी रहेको जनाइएको छ।

संस्थाले तीन किसिमका शेयर संरचना निर्धारण गरेको छ। प्रतिव्यक्ति न्यूनतम शेयर मूल्य एक लाख २५ हजार रुपैयाँदेखि तीन लाख २५ हजार र पाँच लाख २५ हजार रुपैयाँसम्म तोकिएको छ। अस्पताल सञ्चालनपछिका सेवा, सुविधा तथा प्राथमिकता निर्धारणका विषयमा स्थानीयवासी, शेयर सदस्य र उनीहरूका परिवारसँग छलफल गरी प्रतिवेदन तयार पारिसकिएको संस्थाले जनाएको छ।
अस्पताल सेवा सुरु गर्न आवश्यक उपकरण, सामग्री तथा व्यवस्थापनको अध्ययनका लागि संस्थाका उपाध्यक्ष डा. प्रमोदकुमार साहको संयोजकत्वमा विशेष समिति गठन गरिएको संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेलले जानकारी दिनु भयो l

साधारणसभामा प्रमुख अतिथि विकास अधिकारीले सहकारी मोडेलमा सञ्चालन हुने अस्पतालका सम्भावना, चुनौती र दीगो व्यवस्थापनका पक्षबारे धारणा राख्नुभयो। कार्यक्रममा कोषाध्यक्ष जीवन खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो भने पूर्व अध्यक्ष बलराम कार्की, बालरोग विशेषज्ञ डा. टंक बाह्रकोटी, स्वास्थ्य मन्त्रालयका पूर्व उपसचिव मुक्तिनाथ खनाल, समाजसेवी राजकुमार पोखरेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
सहभागीहरूले नागरिकको लगानीमा सञ्चालन हुन लागेको अस्पताललाई सफल बनाउन सामूहिक जिम्मेवारी, पारदर्शिता र निरन्तर सहभागिता आवश्यक रहेको धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन सचिव रविन्द्र भट्टराईले गर्नुभएको थियो।
