झापा , बिर्तामोड । विद्युतीय सवारीप्रतिको आकर्षण बढिरहेका बेला झापाको बिर्तामोडमा यात्रुवाहक विद्युतीय तीनपाङ्ग्रे सवारीको नयाँ ब्राण्ड भित्रिएको छ । बिर्तामोडको साम्रे भेञ्चर्सले भारतीय ब्राण्ड मोन्ट्रा सुपर अटोको बिक्री सुरु गर्दै नेपाली तीनपाङ्ग्रे बजारमा नयाँ विकल्प थपेको हो ।

सवारीको प्रवर्द्धन गर्ने उद्देश्यले साम्रे भेञ्चर्सले बिहीबार बिर्तामोडमा ‘रोड सो’ समेत आयोजना गरेको छ । नेपाललाई भारतबाहिर मोन्ट्रा सुपर अटोको पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा विस्तार गरिएको कम्पनीले जनाएको छ ।
नेपाली बजारका लागि मोन्ट्रा सुपर अटोको राष्ट्रिय आधिकारिक वितरक हिप्को ट्रेडिङ रहेको छ । नेपाली सडकको अवस्था, उकालो–ओरालो तथा दैनिक यात्रुवाहक सेवाको आवश्यकतालाई ध्यानमा राखेर सवारी विकास गरिएको कम्पनीको दाबी छ ।
सुपर अटोमा ९ किलोवाट आवर क्षमताको ब्याट्री र पीएमएसएम मोटर जडान गरिएको छ । मोटरले ६० एनएम टर्क उत्पादन गर्ने जनाइएको छ । एकपटक पूर्ण चार्ज गरेपछि करिब १६० किलोमिटरसम्म यात्रा गर्न सकिने र अधिकतम गति प्रतिघण्टा ५५ किलोमिटर रहेको साम्रे भेञ्चर्सका सेल्स हेड सुजन नेपालले जानकारी दिए ।
ब्याट्रीलाई पूर्ण चार्ज गर्न करिब चार घण्टा ३० मिनेट लाग्ने कम्पनीले जनाएको छ । नेपाली सडकमा सहज सञ्चालनका लागि ३२ प्रतिशतसम्मको ग्रेडेबिलिटी क्षमता तथा ‘हिल होल्ड असिस्ट’ प्रविधि राखिएको छ । आवश्यकता र सडकको अवस्थाअनुसार चालकले विभिन्न ड्राइभिङ मोडसमेत प्रयोग गर्न सक्नेछन् ।
विद्युतीय अटोको सञ्चालनले इन्धन खर्चसँगै नियमित मर्मतसम्भारमा हुने खर्च घटाउन सक्ने भएकाले चालकका लागि सञ्चालन लागत कम गर्ने उद्देश्यसमेत रहेको कम्पनीको भनाइ छ ।
मोन्ट्रा सुपर अटोको नेपाली बजार मूल्य ८ लाख ८५ हजार रुपैयाँ निर्धारण गरिएको छ । बिक्रीसँगै बिक्रीपछिको सेवा सहज बनाउन डिलर, स्पेयर पार्ट्स तथा सर्भिस नेटवर्क विस्तारमा समेत ध्यान दिइएको सोरुम सञ्चालक रोनल मित्तलले बताए ।
रोनल मित्तल र अनुस्थान थापाको साझेदारीमा बिर्तामोडमा मोन्ट्रा सुपर अटोको सोरुम सञ्चालनमा आएको हो । सार्वजनिक यातायात तथा छोटो दूरीको यात्रामा विद्युतीय तीनपाङ्ग्रे सवारीको प्रयोग बढ्दै गएको अवस्थामा मोन्ट्राको प्रवेशले झापासहित पूर्वी नेपालको बजारमा उपभोक्तालाई थप विकल्प उपलब्ध गराएको छ ।
