झापा , बिर्तामोड । कोशी प्रदेशमा १३ वटा मातृभाषालाई सरकारी कामकाजमा प्रयोग गर्न सकिने व्यवस्था समेटिएको विधेयक पारित भएको खुसीयालीमा नेकपा एमालेले झापाको बिर्तामोडमा दीप प्रज्वलन गरेको छ।

मंगलबार साँझ बिर्ताबजारमा आयोजित दीप प्रज्वलन कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताहरू सहभागी हुँदै प्रदेशसभाबाट भएको निर्णयको स्वागत गरेका हुन्। एमाले कोशी प्रदेश कमिटी सदस्य अम्बिर लिङ्देनको नेतृत्वमा बिर्तामोडका नेता तथा कार्यकर्ताहरू कार्यक्रममा सहभागी भएका थिए।
मातृभाषालाई सरकारी कामकाजमा स्थान दिने निर्णयले विभिन्न जातजाति तथा समुदायको भाषिक पहिचानलाई सम्मान गर्नुका साथै राज्यको सेवा प्रवाहलाई थप समावेशी बनाउन सहयोग पुग्ने एमालेको बुझाइ छ। भाषिक विविधताले भरिपूर्ण कोशी प्रदेशमा विभिन्न समुदायले बोल्ने मातृभाषालाई सरकारी कामकाजसँग जोड्ने निर्णयलाई ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ।

कोशी प्रदेशसभाले असोज २४ गते ‘कोशी प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ सर्वसम्मतिले पारित गरेको थियो। विधेयकमा नेपाली भाषाका अतिरिक्त मैथिली, लिम्बू, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, राई, नेवार, चाम्लिङ, शेर्पा र सन्थाल भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न सकिने व्यवस्था समेटिएको छ।
प्रदेशमा एक प्रतिशतभन्दा बढी जनसंख्याले बोल्ने यी मातृभाषालाई सम्बन्धित समुदायका मौलिक लिपिमा प्रयोग गर्न सकिने कानुनी आधार विधेयकले तयार गरेको छ। यस व्यवस्थाले भाषिक अधिकारको संरक्षण, सांस्कृतिक पहिचानको प्रवर्द्धन तथा सरकारी सेवामा नागरिकको सहज पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।
बहुभाषिक तथा बहुसांस्कृतिक पहिचान बोकेको कोशी प्रदेशमा मातृभाषाको संरक्षण र प्रयोगको विषय लामो समयदेखि चर्चामा रहँदै आएको छ। यस्तो अवस्थामा प्रदेशसभाबाट विधेयक पारित हुनु भाषिक विविधतालाई व्यवहारमै सम्मान गर्ने दिशामा महत्त्वपूर्ण कदम मानिएको छ।
यद्यपि, विधेयकमा समेटिएका भाषालाई सरकारी कामकाजमा प्रभावकारी रूपमा प्रयोग गर्न आवश्यक कार्यविधि, जनशक्ति र प्रशासनिक तयारीको व्यवस्था गर्नुपर्ने देखिन्छ। यसको प्रभावकारी कार्यान्वयन हुन सके विभिन्न मातृभाषा बोल्ने नागरिकलाई सरकारी निकायसँग आफ्नो भाषामा संवाद गर्न सहज हुने अपेक्षा गरिएको छ।
