झापा ,बिर्तामोड -साउन ३१ / सुनसरी कारागारबाट पर्खाल नाघेर भागेका एक कैदी झापाबाट पक्राउ परेका छन्। जबर्जस्ती करणीको कसूरमा सजाय भोगिरहेका २८ वर्षीय रुपक पौडेललाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय, झापाबाट खटिएको प्रहरी टोलीले खोजतलाशकै क्रममा बिर्तामोड नगरपालिका–१०, विराटपोखरबाट लुकिछिपी बसिरहेको अवस्थामा उनलाई आज बिहान ६ बजे पक्राउ गरेको हो।
पौडेल गत साउन २८ गते सुनसरी कारागारबाट फरार भएका थिए। उनलाई सम्मानित जिल्ला अदालत, सुनसरीले जबर्जस्ती करणीको कसूरमा १३ वर्ष कैद, ५ लाख रुपैयाँ जरिवाना र ३० हजार रुपैयाँ क्षतिपूर्तिको सजाय तोकेको थियो।
पक्राउ परेका पौडेललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, सुनसरी पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।