बिर्तामोड। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित झापाको बिर्तामोड नगरपालिका–७ मा वडा अध्यक्ष अन्तरटोल नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

स्थानीयस्तरमा खेलकुदको विकास गर्ने, युवालाई खेलकुदप्रति आकर्षित गर्ने तथा टोलहरूबीच आपसी सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
आगामी कात्तिक १८ गतेदेखि सुरु हुने प्रतियोगिता कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा बिर्तामोड नगरपालिका–७ भित्रका आठवटा टोलको सहभागिता रहने वडा अध्यक्ष अबिरल कृष्ण खरेलले जानकारी दिए।
खेलकुदले युवाको शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै अनुशासन, सहकार्य र नेतृत्व विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने भएकाले प्रतियोगिता आयोजना गर्न लागिएको वडा अध्यक्ष खरेलले बताए।
प्रतियोगिताले स्थानीयस्तरमा लुकेर रहेका फुटबल प्रतिभाको पहिचान र विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
