बिर्तामोड , झापा / झापाको बिर्तामोड नगरपालिका–७ स्थित सहिद नेत्रपार्कको खेल मैदानमा सञ्चालित प्रथम वडास्तरीय नकआउट अन्तरटोल फुटबल प्रतियोगिताको उपाधि सिरिजङ्गा टोलले जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा सिताराम टोललाई ६–० गोल अन्तरले पराजित गर्दै सिरिजङ्गाले उपाधि चुमेको हो।

फाइनलमा सिरिजङ्गाले खेलको सुरुवातदेखि नै आक्रमक प्रदर्शन गर्दै सितारामलाई दबाबमा राखेको थियो। करण लिम्बूले खेल शुरु हुने बित्तिकै र सातौँ मिनेटमा लगातार दुई गोल गर्दै सिरिजङ्गालाई सुरुवाती अग्रता दिलाए।
दोस्रो हाफमा पनी सिरिजङ्गाले आफ्नो आक्रामक लयलाई निरन्तरता दियो। दिपेन लिम्बूले दोश्रो हापको ५औँ र सोना लिम्बुले १३ औ मिनेटमा गोल थपेपछि सिरिजङ्गाले खेलमा हाप पछी पनी दबदबा बनाएको थियो।पुन २६औँ मिनेटमा सुधीर लिम्बूले गोल गरे भने २९औँ मिनेटमा सविन राईले गोल थप्दै टोलीको जित ६–० ले सुनिश्चित गरे। सितारामले पटक पटक गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका सिरिजङ्गाका करण लिम्बू र दिपन लिम्बू संयुक्त रूपमा म्यान अफ द म्याच घोषित भए।
प्रतियोगिताको व्यक्तिगत विधातर्फ सिरिजङ्गाका करण लिम्बू मस्ट भ्यालुएबल प्लेयर घोषित भए। त्यस्तै, सविन लिम्बू उत्कृष्ट गोलरक्षक र सोहाङ लिम्बू उत्कृष्ट डिफेन्डर । सिताराम टोलका सौगात राई उत्कृष्ट मिडफिल्डर तथा सुमोद बिमली सर्वाधिक गोलकर्ता घोषित भए। सिरिजङ्गाका बिरहाङ लिम्बू उत्कृष्ट प्रशिक्षक घोषित भए।
बिर्तामोड नगरपालिका–७ खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगितामा १६ वटा टोल विकास संस्थाको सहभागिता रहेको थियो। प्रतियोगिताको विजेता सिरिजङ्गाले नगद ३० हजार रुपैयाँ र उपविजेता सितारामले १५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्।
खेलकुद विकास समितिका अध्यक्ष दीपक कार्कीको अध्यक्षतामा समापन तथा पुरस्कार वितरण कार्यक्रममा कोशी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री एकराज कार्की प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा बिर्तामोड–७ का वडाध्यक्ष अविरल कृष्ण खरेल, बिर्तामोड–६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, वडा नम्बर ३ का वडा सदस्य हरिप्रसाद बाँस्कोटा, वडा नम्बर ७ का वडा सदस्य खडानन्द निरौला लगायतको उपस्थिति रहेको थियो।