वाशिङ्टन, १७ फागुन, २०८१– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई “शान्ति चाहने व्यक्ति होइनन्” भनेर टिप्पणी गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध अन्त्य गर्न चाहेको दाबी गरेका छन्।

तस्बिरको स्रोत: इन्टरनेट
ट्रम्पले आफ्नो भनाइमा भने, “पुटिनले यो युद्ध अन्त्य गर्न चाहन्छन्, उनी यसलाई समाप्त गर्न चाहन्छन्।”
उनका यी अभिव्यक्तिहरू जेलेन्स्की संगको भेटघाटपछि आएका हुन्, जसमा अमेरिकी सहयोगको विषयमा कडा आदानप्रदान भएको बताइन्छ। ट्रम्पले जेलेन्स्कीले अमेरिकी सहयोगप्रति पर्याप्त कृतज्ञता नदेखाएको आरोपसमेत लगाए।
जब ट्रम्पलाई सोधियो कि उनले युक्रेनलाई प्रदान गरिएको सैन्य सहयोग रोक्ने विचार गरिरहेका छन् कि छैनन्, उनले भने, “मैले के सोचिरहेको छु त्यो महत्त्वपूर्ण छैन। म तपाईंलाई भन्दै छु: तपाईंले आज मैले देखेको जस्तै देख्नुभयो। उनी शान्ति चाहने व्यक्ति होइनन्, र म केवल रक्तपात रोक्न चाहन्छु।”
ट्रम्पका यी भनाइहरूले अन्तर्राष्ट्रिय मञ्चमा नयाँ तरंग पैदा गरेको छ, किनभने अमेरिकी सहयोगकै भरमा युक्रेनले रूसी आक्रमणविरुद्ध संघर्ष गरिरहेको छ। ट्रम्पले पुटिनलाई शान्ति चाहने नेताका रूपमा प्रस्तुत गर्नु र जेलेन्स्कीलाई युद्ध जारी राख्न चाहने नेताका रूपमा चित्रण गर्नु विश्व राजनीतिमा ठूलो चर्चा र बहसको विषय बनेको छ।